
दाङ । कोरोनाको कहरको बेला दाङमा १६ वर्षमूनिका बालबालिकाहरु आत्महत्या गर्न थालेका छन् । विगतमा बालबालिकाले आत्महत्या गरेका घटना त्यति सुनिँदैन्थे ।

तर कोरोना कहरका बेला १६ वर्षमूनिका बालबालिकाले आत्महत्या गरेका घटना बढी बाहिर आएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लकडाउनयता १६ वर्षमूनिका ९ बालबालिकाले आत्महत्या गरेका छन् ।



प्रहरीका अनुसार चैतमा एक, वैशाखमा दुई, जेठमा एक, असारमा दुई, साउनमा दुई र भदौको आधाआधी बित्दा एकजनाले आत्महत्या गरिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बालबालिकाले आत्महत्या गरेका घटना जिल्लामा नयाँ भएको र यसको प्रमुख कारण कोरोना कहर र पारिवारिक बेवास्ता हो ।
‘हामी सबै अभिभावक काममै व्यस्त भयौं, लकडाउनका कारण घरभित्र गुम्सिएर बसेका बालबालिकाको मनोभावलाई वास्ता गर्ने फुर्सद भएन,’ गौतमले भने, ‘फलतः उनीहरूले हेपिएको महसुस गरे अनि आत्महत्याको बाटो रोजेको सबैजसो घटनामा हामीले गरेको अनुसन्धानले बताउँछ ।’
लामो समयसम्मको लकडाउनका कारण उनीहरूको साथीसँगको सम्बन्ध पनि टुटेको छ । उनीहरूले आफूलाई मनमा लागेको कुरा भन्न र सुनाउन पाउने साथीहरू कोरोना कहरका कारण टाढा छन् । परिवारका सदस्यहरूले पनि उनीहरूको मनोभाव बुझ्न सकेनन् । अनि मानसिक रूपमा तनाव सुरु भयो ।
‘लकडाउनका कारण उनीहरूले मनमा लागेका कुरा पोख्ने साथीसँगी अहिले उनीहरूका साथमा छैनन्,’ प्रहरी निरीक्षक गौतमले भने, ‘अनि परिवारबाट पनि त्यो साथ नपाएपछि उनीहरू मानसिक रूपमा विक्षिप्त हुने र गलत निर्णयमा पुग्ने गरेका छन् ।’
यसैगरी, घरभित्रै विक्षिप्त भएर बसेका उनीहरूलाई परिवारका सदस्यबाट गरिने सामान्य गाली पनि आत्महत्याको कारण बन्ने गरेको छ । घोराही रामपुरका एक बालकले आमासँग खाना खान मागेको र आमाले त्यो समयमा खान नदिई हप्काएपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेको घटनाबारे उनले जानकारी दिए ।
गौतमका अनुसार मोबाइलको प्रयोग पनि यसको अर्को कारण हो । बढ्दो मोबाइलको प्रयोगले उनीहरूलाई सकारात्मकभन्दा पनि बढी नकारात्मक प्रभाव पार्दै लगेपछि जीवन नै समाप्त पार्नेसम्मको अवस्थासम्म पुर्याउने गरेको गौतमले बताए ।