
झापा: झापाको दमक नगरपालिका प्रधानमन्त्री के. पी. ओली को निर्वाचन क्षेत्र हो । दुई तिहाईको जनमत बाट प्रधानमन्त्री बनेका के. पी. ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा रहेका सरकारी कार्यालयहरुले बद्नाम गराउछ्न् भन्दा कसैलाई अनौठो लाग्न सक्ला तर मालपोत कार्यालय दमक मा वर्षौं देखि थुपारिएको फोहोरको डंगुरले त्यहाँ कार्यरत हाकिम र कर्मचारीलाई मात्र गिज्याएको छैन, जंगबहादुर पछि कै शक्तिशाली भनिएका प्रधानमन्त्री ओलीलाई नै कुरिकुरी भनिरहेको छ ।




सञ्चारकर्मी र पत्रकारहरुकालागी भने यो दृश्य नौलो होइन । न त दुर्गन्धित स्थानमा बसेर कार्यसम्पादन गर्ने मालपोत र नापी शाखाका हाकिम र कर्मचारीकै लागि पनि नौलो हो । वर्षौं वर्ष देखि यस्तै फोहोर शौचालयमा दिसापिसाब गर्न बानी परेका कर्मचारीलाई त मतलब हुने कुरै भएन, सेवाग्राही संग ४ पैसा लिन तानातान गर्ने लेखापढी व्यवसायी र स्थानीय व्यवसायिलाइ पनि मतलब नै नभएको हो त ? यति सारो दुर्गन्ध हुँदा पनि किन मौन?

त्यसो त सरोकारवाला लाई सोध्ने हो भने नगरपालिका कै गैर जिम्मेवारीका कारण यस्तो भएको हो भनिन्छ । दर्जनौं फोहोर बोक्ने गाडी, फोहोर व्यवस्थापनका नाममा करोडौं रकम विनियोजन हुँदा पनि राजस्व संकलनको महत्त्वपूर्ण केन्द्र मानिने मालपोत कार्यालय नै फोहोर को चाङ माथि रहेकोमा सरोकारवाला चिन्ता प्रकट गर्छन् ।
मानिसहरुकाे बिशेष चहलपहल र बढी भिडभाड हुने मालपोत कार्यालय परिषरमा फाेहाेरकाे डंगुर थुपारिदा सेवाग्राहीलाई सेवालिन निकै समस्या भएकाे अवस्था आफैंमा निकै संवेदनशील छ । एकातर्फ जमिन भरी कुहिएको फोहोर, अर्को तर्फ शौचालयबाट आएको अस्वाभाविक दुर्गन्ध । ५ तले आधुनिक बंगला बाट सेवा प्रबाह गर्ने मालपोत र नापी कार्यालयमा यत्रतत्र फ्याँकिएको फाेहारकाे डंगुर ।
यस्तो दुर्गन्धित स्थल बाट विभिन्न प्रकारका राेगहरु फैलिन सक्ने प्रबल सम्भावना बढेकाे सेवाग्राही चिन्तित छन् । हिलोकादो बाट डेंगु फैलिए कसले जिम्मा लिने? ‘खल्ती भरी पैसा बोकेर मालपोतमा बुझाउन आउने सेवाग्राही लाई किन यति धेरै सास्ती?’, जग्गा पास गर्न आएका एक सेवाग्राहीले चिन्ता व्यक्त गर्दै प्रश्न गरे ।
मालपाेत कार्यालय परिषरकाे फाेहाेरकाे डंगुर र कार्यालयमा रहेकाे शौचालयलाई हेर्दा कार्यालयका कर्मचारी र नगरपालिकाकाे चरम लापरबाही रहेकाे कार्यालयमा सेवा लिन आएका एक सेवाग्राही जितेन्द्र शाह बताउछ्न् ।
दमक नगरपालिकाले हरित नगर समृद्ध दमक भन्ने मुल नारा बनाएकाे छ। नारा मात्र होइन हरित नगरपालिका शिर्षक राम्रै रकम विनियोजन पनि गर्छ । सरकारी कार्यालय परिषरमा फाेहाेरका थुप्रा थुपारेर समृद्ध नगर बन्नेमा दमकबासिहरुले आशंका ब्यक्त गरेका छन। त्यसो त झापा जिल्ला कै अति व्यस्त सहरका रुपमा चिनिदै आएकाे दमकमा पछिल्लाे समयमा फाेहाेर व्यवस्थापनले निकै चुनौती दिन थालेको सरोकारवालाको ठम्याइ छ ।
झापा जिल्लाकाे जग्गा पास गरिने काम गर्ने कार्यालय एक समयमा जिल्ला सदरमुकाम चन्द्रगढीमा मात्र थियाे।
जिल्लाबासिहरुलाई जग्गा सम्बन्धि काम गर्न टाढा धाउनु पर्ने भएकाले नागरिककाे सहजताका लागि २०५४ सालमा शाखा कार्यालयका रुपमा दमकमा सारियाे।दमकमा मालपाेत कार्यालय स्थापना गरिएपछि नागरिकहरुले जग्गा सम्बन्धि कामकाजमा सहजरुपमा सेवा लिन पाएका छन।
कार्यालयमा सेवालिन आउने सेवाग्राहीहरुले शौचायल प्रयाेग गर्नुपर्ने हुन्छ। कार्यालयकाे शौचालयमा जानू भन्दा नजानु नै बेस जस्ताे लाग्छ। शौचालय भित्र प्रबेश नगरि बाहिरबाट हेर्दा कार्यालयकाे शौचालय डम्पिङ साईडमा परिणत भएकाे सेवाग्राहीले महसुस गरेका छन। कार्यालयमा सेवालिन आउने सेवाग्राही मनाेज शर्माले शौचालयकाे अवस्था हेर्दा कार्यालयमा कर्मचारी नभएको र शौचालय प्रयाेग गर्छन भन्नेमा दुई मत रहेकाे प्रतिक्रिया दिए। उनले भने ‘कर्मचारी नै यस्तै शौचालय प्रयाेग गर्छन हाेला सेवाग्राहीकाे के मतलब’।
कार्यालय परिषरमा फाेहाेर बस्तुहरु जम्मा हुनु र शौचालय भित्रकाे फाेहाेर पानी ढाेका सम्म आई सेवाग्राहीले प्रयाेग गर्न समेत नसक्दा कार्यालय प्रमुख तथा कर्मचारीले बेवास्ता गर्नु विडम्बनापुर्ण भएको सेवाग्राहीकाे ठहर छ।
तपाईंको कार्यालयमा किन यति धेरै फोहोर? शौचालय किन दुर्गन्धित ? भन्ने जिज्ञासा राख्दा मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले गैर जिम्मेवारपुर्ण जवाफ दिदै यसो भने, ‘छेउछाउमा धान खेती छ, उताबाट रसाएर आएको पानीले शौचालय र यस आसपासको क्षेत्रमा फोहोर भएको होला, नगरपालिकाको गाडी शुक्रवार शुक्रबार आएर फोहोर उठाएकै छ ।’ आफुले उत्पादन गरेको फोहोर, अनि व्यवस्थापन गर्नै नसकेको शौचालय त्यसमाथि नगरपालिकाको गाडीले फोहोर उठाओस् भन्ने आशा ।
कार्यालय प्रमुखले यसो भनिरहदा उनको कार्य कक्षको ढोकै सम्म आइ पुगेको फोहोर र डुङ्डुङ्ती गनाउने कार्यालय परिषरको बारेमा भने उनी अनभिज्ञ नै रहेछन् कि भन्ने आशंका जन्मिएको छ ।
राज्य कोष बाट करोडौं करोड खर्च गरेर बनाइएका सरकारी कार्यालयमा फोहोर मैला डुङ्डुङ्ती गनाउनु र कार्यालय प्रमुखले मतलबै नराखी गैरजिम्मेवारीपुर्ण जवाफ दिनुले मुलुकको प्रशासनिक संयन्त्र कति अनुशासित छ भन्ने छर्लङ्ग भएको छ । सेवाका नाममा ठगी गर्ने र वरको सिन्को पर सम्म सार्न नसक्ने कर्मचारीलाई मालपोत जस्तो अति संवेदनशील र धेरै भिडभाड हुने कार्यालयको हाकिम बनाउनु नै त्रुटिपूर्ण रहेको सरोकारवालाको निस्कर्ष छ।