
आईपीएल/साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जीत हात पारेको छ ।
अबुधाबीमा गएराति भएको खेलमा मु्म्बईले किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनमा समेटियो ।
पन्जाबका लागि निकोलस पुरनले ४४ रन, मायांक अग्रवालले २५ रन, कृष्णप्पा गौतमले अविजित २२ रन, कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे ।
मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २–२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रन बनाएर मुम्बईलाई बलियो स्थितिमा पुर्याएका थिए ।
यस्तै केइरन पोलार्डले अविजित ४७ र हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ र सूर्यकुमार यादवले १० रनमा आउट भएपछि धर्मराएको मुम्बईको इनिङ्सलाई रोहित र पोलार्डले सम्हालेका थिए ।
पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र कृष्णप्पा गौतमले एक–एक विकेट लिए ।
जितसँगै मुम्बईले ४ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।