
काठमाडौं : पीडित पत्रकार तथा कर्मचारीले बिहीबारदेखि काठमाडौंको नयाँ बानेश्वरमा ५ दिने रिले अनशन सुरु गरेका छन् ।
कोरोनाको बाहनामा जबरजस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने संचारसंस्थाबाट निकालिएका पत्रकारहरुले अनशन शुरु गरेका हुन् ।
लामो समयसम्म पनि तलब माग्दा, पुर्नबहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन अनुसार सुविधा माग्दा कामबाटै वञ्चित गराइएपछि पत्रकार महासंघको समन्वयमा बिहीबार सञ्चारगृहका पीडित पत्रकाररकर्मचारी संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन स्वरुप रिले अनशन सुरु गरेको हो ।
अनशनमा पत्रकार विभिन्न संघ संगठनले ऐक्यवद्धता जनाएका छन् । कारोबार दैनिकका कार्यरत पत्रकार धर्मेन्द्र कर्णको संयोजकत्वमा गठित समितिले श्रमजिवी पत्रकार ऐन लागू नगरेसम्म आफूहरुको अनशन जारी रहने बताए । उनले श्रमजिवी पत्रकार ऐन २०५१ पूर्ण रुपमा कार्यान्वयनका लागि देशभरीका सबै पीडित पत्रकारलाई अनुरोध पनि गरेका छन् ।
हाल अनशनमा नागरिक, अन्नपूर्ण, कान्तिपुर टेलिभिजन, कारोबार दैनिक र नेपाल आजका पीडित पत्रकार कर्मचारीहरुको सहभागीता रहेको छ । अनशनका क्रममा पनि मिडिया मालिकहरुले सहमति नगरे सशक्त आन्दोलनमा जाने कर्णले बताए ।
अनशन सुरुवात कार्यक्रममा पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले पत्रकार महासंघकै समन्वयमा भएको आन्दोलनले पूर्ण नपाउँदासम्म नरोकिने बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले अपारदर्शी ढंगले कारोबार गर्ने मिडियाहरुले अब व्यवसायको हिसाबकिताब पनि सार्वजनिक गर्नुपर्ने बताए ।
उनीहरु आन्दोलनलाई सफलतामा नपुर्याउञ्जेलसम्म सँगसँगै संघर्षरत रहने प्रतिवद्धता व्यक्त गरे । पीडित पत्रकाहरुका तर्फबाट अन्नपूर्ण पोस्टका वरिष्ठ उप-सम्पादक डिल्ली आचार्यले यस्तो महामारीमा हटाउने नियत राखेरै मिडिया हाउसले दुर्गममा सरुवा गर्ने तथा पारिश्रमिक नदिएर मानसिक तनाव दिने काम गरेको बताए ।