गौरादह क्वारेन्टाइन: क्यान्टिन संचालकले जेष्ठ देखि पाएनन् भुक्तानी

झापा: सामान्य जिविका गरेर होटल व्यवसाय गर्ने व्यक्तिले क्वारेन्टाइन चलाउने खर्च खल्ती बाट हालेका छन् भन्दा अनौठो लाग्न सक्छ । तर यो कुनै कपोकल्पित कहानी नभएर गौरादह नगरपालिका द्वारा संचालित वडा नं. ७ सामुदायिक हलको क्वारेन्टाइन संचालकको पीडा हो । ग्वालडुब्बा बजारमा होटल व्यवसाय गर्दै आएका हर्क कार्कीलाई क्वारेन्टाइनको क्यान्टिन चलाउने जिम्मेवारी दिइएको छ । उनी बिहान दिउसो र बेलुका गरि ३ पटक क्वारेन्टाइनमा बस्नेहरूलाई खाना ख्वाउछ्न । क्वारेन्टाइनमा बस्नेहरुले खानाको गुणस्तर बारे प्रश्न उठाएपछि थप तनावमा परेका कार्कीले गत जेष्ठ महिना देखि नगरपालिका बाट १ पैसा भुक्तानी नपाएको गुनासो गरेका छन् । २ वटा क्वारेन्टाइनमा क्यान्टिन संचालन गर्दै आएका उनले अहिलेसम्म ३ लाख भन्दा बढी रकम भुक्तानी नपाएको बताउछन् ।

‘दैनिक रूपमा पैसा तिरेर सामान जुटाउनु पर्छ, बारम्बार अनुरोध गर्दा समेत कसैले वास्तै गर्दैनन्, मेयर साव, वार्ड अध्यक्ष र स्वास्थ्य संयोजकलाई बारम्बार बिन्ती गर्दा गर्दा थाकिसकेको छु, अब कसरी व्यवस्थापन गर्ने भन्ने गम्भीर चिन्ता थपिएको छ’, खल्तीमा पैसा नभएपछि कसरी काम गर्ने?’, क्वारेन्टाइन निरिक्षण गर्न गएका सञ्चारकर्मीहरु संग कार्कीले दुखेसो पोखे ।

सामुदायिक भवनको भौतिक संरचना प्रसंसा गर्न लायक देखिन्छ । छोटो समयमा निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याइएको उक्त भवनलाई हाल नगरपालिकाले क्वारेन्टाइनको रूपमा प्रयोग गरेको छ ।

क्वारेन्टाइनमा समस्या रहेको बारेमा त्यहाँ रहेका युवाहरूले पत्रकारहरुलाइ टेलिफोन गरेरै समस्या सुनाए पछि ओमकार टाइम्समा उक्त समाचार छापिएको थियो । समाचार मार्फत क्वारेन्टाइनमा रहेको लापरबाही बाहिरिने बित्तिकै नगरपालिकामा निकै खैलाबैला मच्चिएको बुझिएको छ ।

‘म यहाँ बसेको ११ दिन भयो, कोहि स्वास्थ्यकर्मी र जनप्रतिनिधिको अनुहार देख्न पाइएको थिएन, आज बाट फाट्टफुट्ट आउन थालेका छन्’, समाचार प्रभाव राम्रै परेको बताउदै क्वारेन्टाइन बसेका एकजना युवाले बताए ।

क्वारेन्टाइनमा दिनहुुँ थर्मल गनको प्रयोग गरेर स्वास्थ्य अवस्था चेक जाँच हुनुपर्नेमा स्वास्थ्यकर्मी नै देखा नपर्नु निकै विडम्बनापूर्ण रहेको उनीहरु बताउछन् ।

अव्यवस्थित शौचालय, शौचालय जाने बाटोमा फोहोरको डंगुर


क्वारेन्टाइनमा ८/१० वटा शौचालय रहेको देखिन्छ । शौचालयहरु निकै साघुरा छन् । पानीको सुबिधा राम्रै देखिएता पनि फोहोर पानीको निकास नहुदा शौचालय जाने बाटोमा फोहोर पानीको दह नै जमेको छ । वरिपरि धानबारी । शौचालय जाने बाटो झार जंगलले भरिएको छ । रातिको समयमा शौचालय जादा निकै ठुलो जोखिम मोल्नु पर्ने बाध्यतामा हुन्छन् क्वारेन्टाइनबासीहरु । फोहोर व्यवस्थापन नहुदा फोहोर थुपार्ने डम्पिङसाइड जत्तिकै बनेको छ सामुदायिक भवन ।


‘क्वारेन्टाइन वरपर जमेको फोहोर पानीको कारण डेङ्गु फैलिन सक्ने त्रास पनि उतिकै छ ।,’कतार बाट फर्किएर १० दिन देखि क्वारेन्टाइनमा बसेका एक युवाले भने।

‘झुल उपलब्ध छैन, लाइन गयो भने लामखुट्टे र थरीथरीका किराहरु हल भरि नाच्न थाल्छन्, बिहानी पख कोठा सफाइ गर्दा जताततै लामखुट्टे मरेका भेटिन्छन् । गर्मी र वर्षातको याम भएको कारण जहरिला साप पनि नआउलान भन्न सकिदैन।’ क्वारेन्टाइन बस्नु निकै त्राशपुर्ण रहेको जिकिर गर्दै अर्का युवाले सुनाए ।

हाल उक्त क्वारेन्टाइनमा खाडी लगायत विभिन्न मुलुकबाट आएका १९ जना युवाहरू रहेका छन् । उनीहरु मध्ये कसैको १० दिन कटेको छ भने कतिपय २/३ दिन अगाडी मात्र आएका छन् । आफुहरुले पिसिआर परिक्षण गरेरै बिदेश बाट आएको हुनाले सरकारको मापदण्ड अनुरुप होम क्वारेन्टाइनमा सुरक्षित तवरले बस्न पाउनुपर्ने समेत उनीहरुको माग रहेकोे बुझिएको छ । संघीय सरकारले मापदण्ड बनाएता पनी स्थानीय सरकारको निर्देशन अनुसार आफुहरु क्वारेन्टाइनमा बस्न आएको बताउने उनीहरु यथासिघ्र पिसिआर परिक्षणको लागि पहल गरिदिन अनुरोध समेत गरेका छन् ।

‘भोलि नै अनुगमन हुन्छ’ प्रमुख प्रशासकिय अधिकृत

क्वारेन्टाइनमा यति धेरै समस्या रहेछ नी? किन यस्तो भएको हो ? भन्ने जिज्ञासा राख्दा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई सत्यतथ्य के हो खोजी गरेर समस्या समाधान गर्ने बताउछन् । ‘म भर्खरै कार्यालय सम्हाल्न आइपुगेको छु, सबै कुरा बुझ्न समय लाग्ने रहेछ, भोलि नै क्वारेन्टाइनको अनुगमन गर्ने छु’, ओमकार संगको टेलीफोन सम्पर्कमा भट्टराईले भने ।