सचिवालयका सदस्यमा कोरोना, प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा

सचिवालयका अधिकांश सदस्यमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । निकट रहेका कार्यसम्पादन गर्ने सचिवालयका अधिकांश सदस्यहरूमा कोरोना देखिएपछि प्रधानमन्त्री ओली उनकी पत्नी राधिका शाक्य कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

प्रधानन्त्रीको सचिवालयका सबै सदस्यको शुक्रबार गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यद्यपि, प्रधानमन्त्री ओलीको बिहीबार गरिएको पीसीआर परीक्षणमा भने नेगेटिभ रिपोर्ट आएको बालुवाटार स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओली, उनकी पत्नी शाक्य र बुधबार स्वाबको नमुना दिएकोमा बिहीबार आएको रिपोर्ट नेगेटिभ देखिएको हो । साथै सोही दिन परीक्षण गराएका नेकपा नेता माधवकुमार नेपालको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले सामाजिक सञ्जालमार्फत आफूहरूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । उनीहरूले आफूहरूको सम्पर्कमा आएकालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।