नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ८९ हजार नाघेको छ । आजसम्म ८९ हजार २ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ । संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ छन् भने होम आइसोलेसनमा १२ हजार ३ सय १६ जना छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमणमुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ३३ जना क्वारेन्टाइनमा छन् ।