
साउदी अरेबिया : साउदी अरेबियामा कोरोना संक्रमणबाट ८२ जना नेपालीको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी नेपाली संक्रमित भएका छन् ।
दूतावास रियादका अनुसार हालसम्म ६८ जना र वाणिज्य दूतावास जेद्धाका अनुसार १४ जना गरी हालसम्म ८२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएका हुन् ।
कोरोना महामारीसँगै साउदी अरेबियाबाट हालसम्म चार्टर उडानबाट लगभग ११ हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन् । अलपत्र परेका नेपालीलाई सहजीकरणको लागी नेपाली दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले २६ हजार ९ सय ५६ जनाको नामावली सार्वजनिक गरेको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै आगामी दिनहरुमा स्वदेश फिर्ता हुन दूतावासले उपलब्ध गराएको अनलाइन फारम भर्नु नपर्ने, स्वदेश फिर्ताको लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर आवश्यक प्रक्रियापछि सहजै स्वदेश फिर्ता हुन सकिने जानकारी गराएको छ ।
अक्टोबर महिनाबाट स्वदेश फिर्ताको लागि साउदी अरेबियाबाट नियमित रूपमा ट्रान्जिट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीराले आफ्नो उडान शुरु गरेका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आफ्नो चार्टर उडान कायमै राखेको छ ।
दूतावास रियादको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार ५८ जना नेपालीलाई वहिर्गमन भिषासमेत जारि गरेको छ ।