
काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व सामान्य मन्त्री टेकबहादुर बस्नेतले गृहजिल्ला सल्यानकी एक महिलालाई राखेको यौनजन्य प्रस्ताव अस्वीकार गरेपछि धम्की दिएको खुलासा भएको छ।
बागचौर–८ सल्यानकी मैमाकुमारी खत्रीले शुक्रबार आफ्नो फेसबुक पेजमा न्याय पाउँ भन्दै पूर्वमन्त्री बस्नेतको कर्तुतको खुलासा गरेकी हुन्। पूर्व माओवादीकी कार्यकर्तासमेत रहेकी ती महिलाले अभिभावक ठानेको व्यक्तिले नै आफूमाथि दुब्र्यवहार गरेको भन्दै दुखेको पोखेकी हुन्।
२०७४ साल भदौमा बस्नेतले ४ लाख ऋण मागेपछि ज्वाइ र एक जना व्यापारी साथीसँग सापटी लिएर दिएको उनले उल्लेख गरेकी छन्। २०७४ साल असोज ११ गते बस्नेतको घरमा पुगेर ४ लाख रुपैयाँ बुझाएको बताउँदै खत्रीले भनेकी छन्,‘अहिले सापटी पैसा माग्दा तिम्रो र मेरो कुनै आर्थिक कारोबार छैन भन्दै धम्की दिँदै आउनु भएको छ।’
त्यति मात्रै होइन म पूर्वमन्त्री पनि हुँ तिमीले जानेको गर म दिन्न भन्दै आफूलाई धम्क्याएको उनले बताएकी छन्। उहाँले कुनै कुनै बेला एक्लै काठमाडौं आऊ, कहिले नारायणगढ आऊ भन्दै एक्लै बोलाएपछि आफूले अस्वभाविक मानेको उनको भनाइ छ।
उनले भनेकी छन्,‘उहाँले मलाई धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो, मैले असहमति जनाएँ। तर उहाँले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिँदै आउनु भएको छ। मसँग पैसा लिनु भन्दा अगाडि कहिले तिमीलाई वार्ड सदस्य बनाउने हो भन्दै, कहिले नगरपालिकामा चुनाव लड्नु पर्छ भन्दै आशा देखाउनु भयो।
पैसा लिएपछि मसँग घुमाउरो तरिकाले यौन प्रस्ताव समेत राख्नु भयो। जब मैले असहमति जनाएँ। तब उहाँले पैसासमेत नदिने धम्की दिनु भएकोले म गरिब र अन्यायमा परेकी महिलालाई न्याय दिन सबैमा अनुरोध गर्दछु।’
तर, पूर्वमन्त्री बस्नेतले महिलाले लगाएको आरोप झुठो भएको दाबी गरे। बस्नेतले भने,‘उनीसँग मेरो कुनै आर्थिक लेनदेन भएको छैन। न त मैले यौन प्रस्ताव राखेको छु। यी सबै आरोप निराधार छन्।’ उनले केही नेता र कार्यकर्ताले ती महिलालाई उचालेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाए। ‘मेरो राजनीति सिध्याउन केही नेता र कार्यकर्ताले महिलालाई उचालेका हुन्। क–कसले उचालेका छन् ती मान्छेलाई मैले चिनेको छु।’
खत्रीको निवेदन
सबैलाई नमस्कार।
विषय–न्याय पाउँ भन्ने बारे।
उपरोक्त सम्बन्धमा म मैमा कुमारी खत्री, सल्यान जिल्ला वागचौर नगरपालिका वडा नम्बर ८ मा मेरो घर हो।
म पूर्व माओबादी कार्यकर्ता समेत हुँ। हाल एमाले र माओवादी केन्द्रको एकतापछि बनेको सत्तारूढ नेकपामा आवद्ध छु। म निम्न २ कारणले अन्यायमा परेकाले यसै सामाजिक सञ्जालमार्फत आफ्ना दुःख र भोग्नु परेको पीडा यही सञ्जालमार्फत बाहिर ल्याउने बाध्य भएकी छु। मेरो पीडा र बाध्यतालाई अधिकारकर्मी र पत्रकारहरुले सत्य तथ्य बुझि न्याय दिलाउन सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु।
मैले पूर्वमन्त्री तथा सत्तारूढ दलका नेता टेकबहादुर बस्नेतलाई एउटा असल अभिभावक एवम् जिम्मेवार नेता ठान्दै आएँ। तर, दुर्भाग्य बस्नेतले मेरो निजी जिन्दगीमा ठूलो बज्रपात पारेकाले आज बाध्य भएर यी कुरा भन्न गइराखेको छु। पूर्वमन्त्री समेत रहेका बस्नेतले मेरो भावनासँग खेली आर्थिक एवम् पारिवारिक जीवनमा ठूलो अप्ठ्यारो पारेकाले न्यायका लागि सबैलाई अनुरोध समेत गर्दछु।
पूर्वमन्त्री बस्नेतले मसँग २०७४ साल भदौ महिनामा ४ लाख ऋण माग्नु भएको थियोे। मैले आफ्नै एउटा जिम्मेवार नेता एवम् अभिभावक हुनुका नाताले कहीँ कतै पाएँ भने ऋण दिने योजना बनाएँ। सोही बेला मैले मेरो ज्वाई र एकजना ब्यापारी साथीसँग सापटी लिएर दिने समेत निधो गरें। त्यही अनुसार मैले मन्त्री बस्नेतलाई ४ लाख रुपैयाँ काठमाडाैं आइएमइ गरिदिने निधो गरं।े तर, उहाँले म सल्यान आउने भएकोले त्यहीँ आएर लिन्छु तयार पारी राख्नु पैसा भन्नु भयो र मैले तयार पारी २०७४ साल असोज ११ गते उहाँको घरमा पुगेर ४ लाख रुपैंया बुझाएँ।
आफ्नै घरमा पुगेर मैले त्यति खेर दिएको पैसा अहिले आएर तिम्रो र मेरो कुनै आर्थिक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिँदै आउनु भएको छ। त्यति मात्रै होइन म पूर्वमन्त्री पनि हुँ तिमीले जानेको गर, म दिन्न भन्दै धम्काउँदै आउनु भएको छ। उहाँले कुनै कुनै बेला एक्लै काठमाडौं आऊ, कहिले नारायणगढ आऊ भन्दै एक्लै बोलाउन सुरु गर्नुभयो। मैले अस्वभाविक मान्दै गएँ। उहाँले मलाई धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो, मैले असहमति जनाएँ। तर उहाँले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिँदै आउनु भएको छ। मसँग पैसा लिनु भन्दा अगाडि कहिले तिमीलाई वार्ड सदस्य बनाउने हो भन्दै, कहिले नगरपालिकामा चुनाब लड्नु पर्छ भन्दै आशा देखाउनु भयो। पैसा लिएपछि मसँग घुमाउरो तरिकाले यौन प्रस्ताव समेत राख्नु भयो। तब मैले असहमति जनाएँ।
उहाँले पैसा समेत नदिने धम्की दिनु भएकोले म गरिब र अन्यायमा परेकी महिलालाई न्याय दिन सबैमा अनुरोध गर्दछु। एउटा जिम्मेवार नेता एवम् पूर्र्वमन्त्रीले म जस्तो सामान्य मान्छेको जीवनसँग खेलवाड गरेर के फाइदा हुने रहेछ मैले बुझिनँ। साथै दुःखगरी व्यापार व्यवसायबाट २–४ लाखको कारोबार गरी व्यवसायी साथीहरूसँग लिएको पैसा नदिने र उल्टो एकान्तमा भेट्न बोलाएर मेरो अस्मितामाथि गिद्धे नजर लगाउने बस्नेतका कर्तुक बाहिर ल्याई मलाई न्याय पाउँ भनी बाध्य भएर यो लेखेकी छु।
मैमा कुमारी खत्री
बागचौर–८ सल्यान