सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहेका छन् : पूर्वराजा शाह

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयबारे बोलेका छन्। बडादशैंको अवसरमा बिहीबार एक शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयमा आपत्ति जनाएका हुन्। 

शाहले नेकपा नेतृत्वको सरकारको रवैयाले नेपाली जनता अभिभावकविहीन बन्न पुगेको पनि निचोड निकालेका छन्। जनता बाँचे मात्रै राज्य रहने बताउँदै उनले राज्य रहे मात्रै राजनीति रहने यथार्थमा सचेत पनि सरकार र ददलाई आग्रह गरेका छन्। 

बिज्ञापन

‘जनतालाई बचाउन सके मात्रै राज्य बच्छ, राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ’, उनले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ।’

शाहले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सद्भाव र सहकार्य छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप पनि लगाएका छन्। यसले गर्दा देशमा स्थिरतासहित सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको निचोड उनले निकालेका छन्। 

‘दैनिक जीविकाको अत्यावश्यक वस्तुमा चर्को मुल्य वृद्धि, अभाव र गुणस्तरमा ह्रास जस्ता बिषयले हाम्रो जनजीवन पिरोलिएको छ,’ शाहले भनेका छन्, ‘अनि समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ। यसले मानसिक तनावको परिस्थिति खडा गरेको छ। त्यसैले सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहेका छन्।’