गौरादह: वडा कार्यालयको लापरबाहीका कारण काजकृया गर्न समस्या भएको स्थानीयको आरोप

झापा : गौरादह नगरपालिका वार्ड नं. ४ मा गतहप्ता कृष्ण बहादुर निरौलाको मृत्यु भयो । कोरोना संक्रमणका कारण मृत्यु वरण गर्न पुगेका निरौलाको मृत्यु भएको ४ दिन बितिसक्दा पनि काजकृया भने शुरु हुन सकेको छैन । कोरोना सक्रमणका कारण मृत्यु भएको अवस्थामा परिवारका सदस्यको पिसिआर परिक्षण नहुदा काजकृयामा बस्न समस्या भएको पाइएको छ । नेपाली सेनाको टोलिले सव व्यवस्थापन गरेर फर्किए पश्चात् स्थानीय पालिकाले आवश्यक प्रक्रिया अपनाउनु पर्ने भएता पनि मृतकको घरमा जनप्रतिनिधिहरुले कुनै चासो नै नलिएको स्थानीयले गुनासो गरेका छन् ।

 

 

वडा नं. ४ मै घर भएका लय बराल सामाजिक संजालमा लेख्छन्, ‘वडा कार्यालयको लापरबाहीका कारण पिसिआर परिक्षण नहुदा ५ दिन बितिसक्दा सम्म आफ्नो संस्कार अनुसारको काजकृया गर्न नपाएको प्रती गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, ५ घण्टामा पिसिआर हुने प्रबिधि हुँदा हुँदै ५ दिन सम्म परिक्षण नहुदा मृतकको परिवारमा असहज अवस्था सृजना भएको छ, सम्बन्धित निकाय प्रती खेद प्रकट गर्दछु ।’

 

 

स्वाब संकलन गर्न किन ढिलाइ ?

 

मृतकका परिवारको अहिलेसम्म स्वाब संकलन सम्म हुन सकेको छैन । संघीय सरकारले तोकेको कोटामा नपरेकै कारण स्वाब संकलनमा ढिलासुस्ती भएको नगर स्वास्थ्य शाखाका सह- संयोजक गोबिन्द श्रेष्ठ बताउछन् ।

 

‘गरिब, अल्पसंख्यक, एकल लगायतको क्राइटएरियामा परेकालाई मात्र निशुल्क परिक्षण गर्न संघीय सरकारको निर्देशन छ, त्यो परिवार क्राइटएरिया भित्र परेन त्यसैले ढिलाइ भएको हो, पत्रकारले बाकी कुरा संघीय सरकार संगै बुझ्दा राम्रो ।’, ओमकार प्रतिनिधि संग टेलीफोनमा श्रेष्ठले सुनाएका छन् ।

 

नीति नियम बिपरित कुनै पनि हालतमा जान नसक्ने जिकिर गरेका श्रेष्ठले कन्ट्याक ट्रेसिङका आधारमा आज ४ जनाको स्वाब संकलन गरिने बताए । वडा कार्यालयले सिफारिस नदिएकोले ढिलाइ भएको समेत श्रेष्ठ बताउछन् । वडा कार्यालयले नगरपालिका लाई सिफारिस नै नगरेको परिस्थितिमा कसरी स्वाब लिने भन्दै उनले वार्ड अध्यक्षको कारणले ढिलासुस्ती भएको आरोप लगाए।

 

निजि हस्पिटलमा चेकजाँच गरेको कागजपत्र नगरपालिकामा मृतकका परिवारले नबुझाएको कारण पनि आफुहरु पिसिआर गर्न बाध्य नरहेको स्वास्थ्यकर्मी श्रेष्ठको जिकिर छ ।

 

वडा अध्यक्षले सिफारिस नदिएको आरोप खेपेका मडिन्द्र कार्की भने उक्त कुरा स्विकार गर्नै चाहदैनन् । वडा कार्यालय छेउ मै घटना घट्दा समेत तपाईंहरुको गम्भीरता देखिएन नी भन्ने जिज्ञासा राख्दा अध्यक्ष कार्की भन्छन्, ‘राज्यले कोटा प्रणाली लागू गरेपछि मान्नै पर्दो रहेछ, ल्याबमा आज ४ वटा रिपोर्ट पठाउने भनेर बल्लतल्ल स्वीकृती लिइएको छ ।’ वडा कार्यालयको ठ्याक्कै अगाडी घटेको घटनामा पनि किन कदम चाल्न सकिएन ? भन्ने जिज्ञासा राख्दा वडा अध्यक्ष कार्कीले सुनाए, ‘नीति निर्देशन भन्दा बाहिर जान मिल्दैन भनी सकें त ! पत्रकारले पनि अलि बढि नै बुझे जस्तो लाग्यो अलि कम बुझेको राम्रो ।’

 

सबै व्यवस्था मिलाइदिएको छ: मेयर साह

 

मेयर रोहित साहले भने तत्कालै प्रक्रिया अगाडी बढाइने तैयारी भइसकेको जानकारी गराएका छन् । पिडित परिवारको समस्यालाई नितिगत भनेर बस्न पनि मिलेन, मलाई जानकारी हुने बित्तिकै सबै व्यवस्था मिलाइदिएको छु । आज १० वजे नै स्वाब लिइने छ ।

 

आज ४ जनाको मात्र स्वाब लिने भनेको रहेछ, त्यसो गर्न मिल्दैन भनेर ५ जनाको स्वाब संकलन गर्ने वातावरण तत्काल मिलाइ दिएको स्थानीय समाजसेवी तथा गत स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार समेत रहेका नेत्र ढुंगानाले बताए । ‘मुख्य रुपले काजकृयामा खटिने ५ जना देखियो, नीति नियमको कुरा गर्ने बेला छैन, सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ ।’, ढुंगानाले भने । कोरोनाकै कारण मृत्यु भएकोले त्रास झेलिरहेका स्थानीयहरुको आवतजावत उक्त घरमा नभएको र शोकमा रहेका परिवारका सदस्य भने घर भित्रै पनि छुट्टाछुट्टै बस्ने गरेको ढुंगानाले जानकारी गराएका छन् ।

 

पहिलो चरणमा ४ जनाको मात्र स्वाब लिन मिल्ने बताइरहने स्वास्थ्यकर्मी र वार्ड अध्यक्षलाई चुनौती दिदै तत्कालै ५ जनाको स्वाब संकलनको व्यवस्था मिलिरहदा नीति र पद्धतिको विष्लेशकले कुन रूपमा लिने हुन् त्यो त हेर्न बाकी छदैछ, साथै निति, नियम र संघीय निर्देशनको हवाला दिनेहरुले अहिलेसम्म के कति नीति निर्देशको पालना गरेका छन् र आगामी दिनमा कति सम्म पालना गर्दै जानेछन् भन्ने पनि प्रतीक्षा गर्नैपर्ने देखिएको छ ।