प्रदेश एकमा आगामी कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द हुने

प्रदेश एकमा आगामी कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द हुने भएको छ । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले बिहिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेश भर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउदै सरकारसमक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरि प्रदेश भर हडताल गर्ने पक्षमा पुगेको खत्रीले जानकारी दिएका छन् । खत्रीले अन्य सबै प्रदेशमा कर छुट गरेको तर प्रदेश एकले भने कुनै सहुलियत नदिएको बताए । उनले भने,‘सबै प्रदेशमा कर छुट गरेको छ तर हाम्रो प्रदेशमा भने छैन, मुख्यमन्त्रीले आश्वासन मात्र दिनभयो, पुरा गर्नुभएन ।’ उनले यातायात क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्रमा समेत नराखेको बताउदै मौद्रिक नीतिमा समेत आफूहरुलाई झुक्याउने काम भएको जानकारी दिए ।

कार्यक्रममा यातायात व्यवसायीहरुले नौ बुँदे माग राख्दै सम्बोधन नभएसम्म बन्द हडताल नरोक्ने बताए । सरकार साथै अन्य क्षेत्रलाई नजरअन्दाज नगर्न भन्दै उनिहरुले नजरअन्दाज गर्दा अप्रिय घटना घटे आफै जिम्मेवार हुन चेतावनी दिए । महासंघले अत्यावश्यक मानव सेवाका सवारी साधन भने बन्द नहुने बताएको छ ।