शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सरकारसँग राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह गरेकी छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे मंगलबार शीतल निवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिइन्।

बिज्ञापन

आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गर्दै उनले अहिलेका अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्न आग्रह गरिन्।

बढीभन्दा बढी सेवा प्रवाह गर्न र विज्ञको सल्लाहसुझाव लिई अघि बढ्न उनले सरकारलाई सुझाव दिएकी छन्।

उनले पूर्वाधार निर्माण र जनशक्ति अभाव पूर्ति गर्न ध्यान दिन तथा महामारी अझै बढे के गर्ने भन्नेबारे तयारी थाल्न सरकारलाई सुझाव दिएकी हुन्। गरीबीको चेपुवामा परेका नागरिकको समस्यातर्फ ध्यान दिन आग्रह गर्दै उनले अहिलेको महामारीका बेला स्थानीय तहलाई झन् सक्रिय गराउन आवश्यक रहेकामा जोड दिएकी छन्।

राष्ट्रपति भण्डारीले कोभिडको महामारीबाट पाठ सिकी अब सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्। उनले न्यूनआय भएका, अप्ठ्यारामा परेका तथा गरीबीको दुश्चक्रमा परेकाहरुको समस्याप्रति सबैको ध्यानाकर्षण गराइन्।

राष्ट्रपति भण्डारीले सामाजिक जनजीवन सहज तुल्याउन तथा राज्यका सम्पूर्ण अंगसहित स्थानीय तहलाई साथमा लिएर काम गर्न केन्द्रीय सरकारलाई सुझाव दिइन्।

राष्ट्रपतिसँगको भेटको अवसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडको खोप प्रयोगमा आए नेपाली नागरिक त्यसबाट वञ्चित हुन नपर्ने गरी सरकारले कामकारवाही अघि बढाएको जानकारी दिए। अस्पतालमा शैय्या पर्याप्त भएको जनाउँदै मन्त्री ढकालले कोभिडबाट संक्रमितले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

काठमाडौँ उपत्यकाका विभिन्न सरकारी अस्पतालका निर्देशक तथा पदाधिकारीले कोभिड महामारीका समयमा आआफ्नो अस्पतालले गरेका काम तथा आगामी योजनाबारे राष्ट्रपतिसमक्ष अवगत गराएका छन्।