हामी युवाहरुलाई बिरालो सोच्ने भुल राज्यसत्ताले नगरोस् : विज्ञान क्षेत्री , नेता नेकपा विप्लव समुह

 

सशस्त्र जनयुद्ध समाप्त भएको भनिएतापनि अझैसम्म क्रान्ति सफल भएको छैन भन्दै नेपाल कम्युनिस्ट पार्टी क्रान्तिको मैदानमै रहेको देखिन्छ । झापा जिल्लामा पनि राम्राे संगठन विस्तार भइरहेको बताइन्छ । आजको दिन नेपाल कम्युनिष्ट पार्टीको औपचारिक रुपमा स्थापना समेत गरिएको दिन अर्थात नेकपाले आजको दिनलाई स्थापना दिवसको रुपमा मनाउने गरेको छ । प्रस्तुत छ ओमकार प्रतिनिधिले यस पार्टीका युवा संगठन नेपाल झापा जिल्ला कार्यवाहक अध्यक्ष विज्ञान क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अंश:-

बिज्ञापन

कुन सिद्धान्तको जगमा पार्टी स्थापना गरिएको हो ?

– हाम्रो पार्टीको राजनीतिक सिद्धान्त एकीकृत जनक्रान्ति हो जसको लक्ष्य वैज्ञानिक समाजवाद वैज्ञानिक समाजवादी क्रान्तिमा समाबेश हुने वर्गहरु भनेका देशभक्त सेना, प्रहरी, डाक्टर, इन्जिनियर, पत्रकार, प्राध्यापक, साना व्यापारी, कृषक र मजदुरहरु नै हुन् जसले समाजमा मध्यमवर्गको साथै सर्वहारा श्रमजीवि वर्गको प्रतिनिधित्व गरेका छन् ।

के नेपालमा परिवर्तन अझै आवश्यक छ ?

– नेपाली समाजमा केही मात्रामा व्यवस्था साथै समूल राज्य संरचना परिवर्तन भएको छैन । राणाकालीन राज्य संरचना जिउका तिउ छन् त्यसमा भारतीय दलालहरु रअ जस्ता खुफिया संस्थाका एजेन्टहरुले समग्र राज्य सत्तालाई नै आफ्नो मुट्ठीमा लिएर नेपाली जनताहरु माथि अझै पनि शोषण गरीरहेका छन् । जनताका समस्याहरु अझै उस्तै छन् । शासक वर्ग जनताहरु विचको अन्तरद्वन्द अझ चुलिएर गएको छ । वैदेशिक हस्तक्षेप नेपालको स्वाभिमान माथिको अतिक्रमण नांगो रूपमा बढ्दो छ। यी सम्पुर्ण देशको घटनाक्रमलाई नियाल्दा हामी नेपाली जनता र नेपालको मुक्तिको लागि कठोर परिवर्तनको आवश्यक छ । जुन अब हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीबाट मात्र सम्भव छ ।

तपाईंहरूले भन्न खोज्नु भएको परिवर्तनको कस्तो छ ?

– वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको लागि देशभक्तहरु त्यसमा पनि मध्यम वर्गको नेतृत्व गर्ने डाक्टर, इन्जिनियर, प्रहरी, शिक्षक, साना व्यापारी, वकिल, पत्रकार, कृषक मजदुर र सर्वहारा श्रमजीवि जनताहरूको मोर्चाद्वारा नै राजनीतिक, भौतिक, आर्थिक र वैज्ञानिक युगका सूचना सञ्चारहरूको अधिकतम् उपयोग गरिनेछ ।‌ एक्काइसौ शताब्दीमा आइपुग्दा माथि उल्लेखित वर्गहरुलाई पनि ज्यालादारी मजदुरको रुपमा यस राज्य राज्यसत्ताले प्रयोग गरेको हाम्रो पार्टीको विश्लेषण छ । त्यसैले हाम्रो पार्टीको मोडालिटी भनेकै माथि उल्लेखित वर्गको नेतृत्वमा हुने जनक्रान्तिको हो ।

विप्लव समूह हतियार बिहिन भन्छन् नी? उसलाई विश्वास गर्ने आधार के छ?

– पहिलो कुरा त बिप्लब समूह होइन यो नेपालको अग्रगामी कम्युनिष्ट पार्टी हो जसको नेतृत्व महासचिव कमरेड विप्लवले गर्नुभएको हो । जहाँसम्म हतियारको कुरो छ राजनीतिमा हतियार दुई प्रकारको हुन्छ: वैचारिक र भौतिक । वैचारिक रुपमा हाम्रो सम्पूर्ण कमरेडहरु लाल र निपूर्ण हुनुहुन्छ । वास्तवमा क्रान्ति हाक्ने भनेको वैचारिक हतियार बाटै हो । जहाँसम्म भौतिक हतियारको प्रश्न छ संसारमा भएका प्रतिकृयावादी सैनिक कु विरुद्ध भएका सम्पूर्ण जनक्रान्तिहरु एउटामात्र हतियारबाट सुरु भएका छन् ।

दशवर्षे जनयुद्ध र त्यसको औपचारिक विसर्जन अनि फेरि सुरु भएको नयाँ क्रान्तिलाई नेपाली जनताले विश्वास गर्ने आधार के छन् त ?

– यो २१ औं शताब्दीसम्म आइपुग्दा एउटा वर्गको प्रतिनिधित्व गरेको पात्र अर्को कालखण्डमा अर्को वर्गको नेतृत्वमा पुग्नु स्वाभाविक प्रक्रिया हो । यिनै पात्रहरूलाई साम्राज्यवादीको विस्तारवादी मालिकहरूले कठपुतली बनाएको भर मै नेपाली क्रान्ति रोकिँदैन । जहाँसम्म दशबर्षे महान् जनयुद्धको कुरो छ यसको ससम्मान निरन्तरता नै एकीकृत जनक्रान्तिसँग जोड्ने बाटो जनयुद्धको मर्म लक्ष्य र नेपाली जनताको मुक्ति अझै पनि पूरा भएको छैन । जनयुद्ध र जनताको विरासतलाई एकीकृत जनक्रान्ति मार्फत उक्त लक्ष्य पूरा गर्दै वैज्ञानिक समाजवादी समाजमा पुग्नको लागि हामी लागिपरेका छौं । केहि मानिसबाट भएको धोकाधडी ले क्रान्तिमा त्यति ठूलो महत्व राख्दैन । फेरि पनि क्रान्ति परिवर्तन प्रतिको नेपाली जनताको झुकाव अझ धारिलो हुँदैछ । नेपाली जनताको मुक्ति र नेपाली समाजको परिवर्तनका सम्भावनाहरु ताजै छन् । जसलाई प्रतिक्रियावादी आँखाहरूले देख्न नसक्नु विडम्बना हुनेछ ।

तपाईंको पार्टी र  पार्टीका कार्यकर्ताहरु भूमिगत अर्धभूमिगत वा खुला कहाँ हुनुहुन्छ?

– वहाँहरु अर्थात हामीहरु नेपाली जनताका बीचमा छौं। सधैं रहनेछौं ।

तपाईंहरूको पार्टी कमजोर छ भन्छन नी? तपाई के भन्नुहुन्छ ?

– बलियो वा कमजोर भन्ने कुरा प्रतिक्रियावादी राज्यसत्ता अतालिएर हामीमाथि गरेको प्रतिबन्ध बाट नै प्रस्ट हुन्छ । वास्तवमा रोक्न वा थुन्न खोज्ने सिंहलाई नै हो । बिरालोलाई कसले रोक्न वा थुन्न खोज्दैन जस्तो लाग्छ । हामी युवाहरुलाई बिरालो सोच्ने भुल राज्यसत्ताले नगरोस् ।

अहिले पार्टीमा जनसेनाको संख्या कति होला ? फेरि पनि भाटे कारबाहीहरुले निरन्तरता पाउँछन् त ?

– जनसेनाको संख्या भन्दा भनि साम्राज्यवाद र विस्तारवादका केही मुठ्ठी भरका भरौटेहरुको देखि बाहेक तपाईं हामी जो अग्रगामी सोचमा छौं, नेपाल आमाको रक्षा गर्ने सम्पूर्ण युवाहरु जनसेना हो । जहाँसम्म भाटे कारबाहीको कुरा छ, आज नेपाली समाजमा हुने जालझेल, भ्रष्टाचार, बलत्कार, माफियाहरु माथि हिजोपनि जनकारबाहीहरु भएका थिए । जुन जनताले गर्ने स्वाभाविक प्रक्रिया मात्र हुन्। फेरि पनि क्रान्ति नै सफल पार्ने ठूलो साधन भने होइन।

झापा जिल्लामा भएका भ्रष्टाचार बेथिति र माफीयाहरूको हुँकार विरुद्ध पार्टीले उठाएका मुद्दाहरु के कस्ता छन्?

– झापा जिल्लाको सन्दर्भमा सबै स्थानीय निकायहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् शैक्षिक माफिया र विभिन्न क्षेत्रका दलालहरुका हुँकार गर्दैछन । हाम्रो पार्टीले झापा जिल्लामा भ्रष्टाचारीहरु माथि जनकारबाही स्थानीय जनसरकारमार्फत गरिरहेको नै छ र गर्नेछ । हालसालै देखिएको निजी विद्यालयमा कार्यरत शिक्षकहरूको पारिश्रमिकको विषयमा पनि पार्टीको गम्भीर ध्यानाकर्षण छ । यसैगरी विभिन्न क्षेत्रमा जनताका रगत चुस्ने काम गरिरहेको सानाठूला माफियाहरुलाई यसै मिडियामार्फत खबरदारी गर्न चाहन्छु कि युवा शक्तिलाई कमजोर सोच्ने गल्ती नगर देशको परिवर्तनको संवाहक शक्ति युवाशक्ति नै हो । जसको नेतृत्व गर्ने क्षमता झापाली युवामा छ

अन्त्यमा के भन्न चाहनुहुन्छ?

– अन्त्यमा सम्पूर्ण युवा वर्गहरु माझ एकीकृत जनक्रान्ति को यो विशाल यात्रामा आवद्ध भई अघि बढ्न अनुरोध गर्दै तपाईंको मिडियालाई पनि हाम्रो विचारहरु जनतासामु पुर्याउन सहयोग गरिदिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।