
काठमाडौं । आज चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेई फेङहे नेपाल आउने भएका छन् । रक्षामन्त्री फेङहे नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
उनले यस भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयको भनाइ छ । रक्षामन्त्री वेई फेङहे आज साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ । उनको यस भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्णका रुपमा हेरिएको छ । उनी २१ सदस्यीय प्रतिनिधिमण्डलको टोलीसहित विशेष विमानबाट आज काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।