
बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी एक महिलाको सुनको गहना चोरी भएको छ । बुटवल–७ शिवनगरकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको कानमा लगाएको दुई वटा रिङ र नाकमा लगाएको फुली चोरी भएको हो ।
मंसिर १४ गते आइसियू कक्षमा भर्ना भएकी र १५ गते बिहान उपचारका क्रममा मृत्यु भएकी उनको एक तोला बराबरको सुनका गहना उपचारकै क्रममा चोरी भएको परिवारका सदस्यले गुनासो गरेका छन् । संक्रमितको मृत्यु भएपछि अस्पतालका कर्मचारीले मोबाइल, थर्मस लगायत सामान दिएपनि गहना नपाएपछि परिवारका सदस्यले खोजी गरेका थिए ।
‘हामी जाँदा शवलाई मर्करीमा राखिसकेको रहेछ, हामीले गहनाको कुरा गरेपछि शव खोलेर हेर्दा फुली लगाएको नाकको भागमा रगत निस्केको देख्यौँ,’ मृतकका छोरा प्रदीप अर्यालले भने, ‘गहना हराएकोबारे अस्पतालका फोकल पर्सन, वडा प्रहरी र बुटवलका मेयरलाई पनि जानकारी गरायौं, उहाँहरुले हामी खोजी गर्छौं भन्नुभयो तर त्यसपछि सम्पर्क गर्नुभएन ।’ बिरामीको मृत्यु भएपछि गहना निकालिएको हुनसक्ने अर्यालले आशंका गरे । चोरी भएको गहना पत्ता लगाएर दिने आशा गरेको तर एक हप्तासम्म नदिएपछि अरु बिरामीको गहना नहराओस् भन्ने उद्देश्यले घटना सार्वजनिक गर्नुपरेको मृतकका छिमेकी गुप्तबहादुर केसीले बताए । यसअघि पनि अस्पताल भर्ना भएका बुटवलकै एक पुरुषको बेरुवा औंठी पनि चोरी भएको गुनासो आएको केसीले बताए ।
अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले गहना चोरी भएको गुनासो आएको स्वीकार्दै खोजी भइरहेको बताए ।