
दमक । विगत केही दिन देखि कोरोना कहर बिच पनि राजसंस्था र हिन्दुराज्यको माग गर्दै देशभरि आन्दोलन र जुलुसहरु स्वतस्फूर्त रुपमा निस्किन थालेका छन् ।यसै क्रममा आज काठमाडौं, चितवन र झापामा बिशाल र्यालीहरु निस्किएका छन् ।

काठमाडौं उपत्यकामा बिहानैदेखि सशस्त्र , जनपथ र ट्राफिक प्रहरी बाक्लो संख्यामा उतारिएतापनि जुलुसमा उपस्थित मानव सागरलाई व्यवस्थापन गर्न सुरक्षा निकायलाई हम्मेहम्मे परेको थियो । कोरोना महामारीका बिच सुरक्षा निकायले जुलुस निकाल्न निशेध गरेतापनि काठमाडौं उपत्यकानै ठप्प पार्नेगरि लाखौंको संख्यामा मानवसागर उर्लिएको थियो ।



काठमाडौंका विभिन्न स्थानबाट बाजागाजा सहित निस्किएको जुलुसमा `राजा आउ , देश बचाउ ´ ` गल्ली गल्लीमा हल्ला छ , राजा ल्याउने सल्लाह छ ´ `गणतन्त्र धोका हो´ `हिन्दुराज्य कायम गर ´ जस्ता नाराले काठमाडौं उपत्यका उचालिएको थियो । महिला, बृद्ध , युवाहरुको उल्लेख सहभागीता रहेको जुलुसले ६२/६३ को आन्दोलनको झल्को दिइरहेको थियो ।

नेपालका लागि नेपाली अभियानको नेतृत्व रहेको उक्त जुलुसमा विभिन्न राष्ट्रवादी शक्तिहरुको साथै उल्लेख संख्यामा स्वतन्त्र युवाहरुको सहभागीता रहेको कुरा राष्ट्रवादी नेतृ सृजना वाग्लेले ओमकार टाईम्स प्रतिनिधिलाई जानकारी गराइन ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्म भेलाभएको जुलुस सभामा परिणत भएपछि सभालाई सम्बोधन गर्दै अभियानका संयोजक डा. सुरेन्द्र भण्डारीले भने `यो नागरिक आन्दोलनको बलमा अब नेपालमा राजसंस्था र हिन्दुराज्य स्थापित हुने कुरामा दुईमत छैन । ´उक्त सभालाई बरिस्ठ अधिवक्ता बालकृष्ण न्यौपाने , सृजना वाग्ले , सागर खड्का लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन मनोज सापकोटाले गरेका थिए ।
त्यस्तै चितवनमा पनि लाखौंको संख्यामा मानव सागर सडकमा ओर्लेको छ । चितवनको विभिन्न स्थानबाट निस्किएको जुलुसले भरतपुर बजार परिक्रमा गरि पारस बसपार्कमा भेला भएको थियो ।राजसंस्था र हिन्दुराज्यको नारा सहित अधिकांश युवाहरुको उपस्थिति रहेको उक्त जुलुस `चितवन राष्ट्रवादी समाज´को अगुवाइमा भएको चितवनबाट सन्तोष अधिकारीले ओमकार टाईम्सलाई बताए ।जुलुस पारस बसपार्कमा पुगेर भेलामा परिणत भएको थियो । उक्त भेलालाई वीर गोर्खालीका नगेन्द्र देउजा , शिवसेना नेपालका विक्रम पाण्डे , चर्चित युवा पण्डित श्रीनिवासाचार्य लगायतले सम्बोधन गरेका थिए ।
झापामा पनि उर्लियो मानवसागर
आजकै दिन झापामा पनि राजसंस्था र हिन्दुराज्यको पक्षमा बिशाल र्याली निस्किएको छ ।राप्रपाले अगुवाइ गरेको उक्त कार्यक्रममा झापाका विभिन्न राष्ट्रवादी शक्तिहरुको साथै स्वतस्फूर्त युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
झापाको विभिन्न स्थानबाट काकरभिट्टामा भेला भएर निकालिएको र्यालीमा हजारौंको संख्यामा मोटरसाइकल थियो भने सयौंको संख्यामा गाडीहरु रहेको थियो ।काकरभिट्टादेखि निस्किएको र्याली बिर्तामोड आइपुग्दा समेत सकिएको थिएन । राजसंस्था र हिन्दुराज्यको पक्षमा र्यालीमा लगाइएको नाराले झापानै उचालिएको थियो ।
झापाली मानवसागर उर्लिएको उक्त र्याली बिर्तामोडको मुक्तिचोकमा आइपुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई राप्रपा झापाका अध्यक्ष अमर बिष्ट , प्रदेश अध्यक्ष राम थापा, संसद समेत रहेका महामन्त्री राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन ध्रुव उप्रेतीले गरेका थिए । कार्यक्रमलाई सान नेपाल , उमेश लामा लगायतले व्यवस्थापन गरेका थिए ।