
काठमाडौं । रौतहटस्थित राजपुर बमकाण्डका आरोपी तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतबाट पक्राउ परेका छन् ।

उनलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर नेपाल ल्याइँने स्रोतले जनाएको छ । उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी गएको बताइएको छ । ०६४ साल चैत २७ गते रौतहटमा भएको बम विष्फोटको घटना भएपछि महताव फरार भएका थिए । उक्त घटनाका मुख्य योजनाकार उनकै दाजु कांग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा रहेका छन् । उनलाई प्रहरीले २०७६ असोज २७ गते पक्राउ गरेर मुद्दा चलाएको हो ।



०६४ साल २७ गते चैत चुनावको बेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । उक्त घटनामा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई इटाभट्टामा जिउँदै जलाइएको थियो ।
