गौरादहमा विपन्नको लागि आएको रकम वडाध्यक्षले खोसेको आरोप,पैसा वार्डमा सुरक्षित रहेको वडाध्यक्षको दाबी

दमक : गौरादह ७ निवासी ७४ वर्षीय एक बृद्ध गुदुरा माक्राले वडा अध्यक्ष माथी आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । बिपन्न आवासको लागि आफुले पाएको ३० हजार रुपैयाँ वडा अध्यक्ष बलराम खरेलले लगेर फिर्ता नगरेको भन्दै उनले गम्भीर आरोप लगाएका हुन् ।


माक्राले बताए अनुसार गत असारमा वडा अध्यक्ष खरेलले घरमै आएर टिन ल्याइदिउला भन्दै पैसा लिएर गएको तर पैसा लिएर गए पछि उनले वास्तै गर्न छोडेको भन्दै मिडियाकर्मीसंग दुखेसो पोखेका छन् । ‘म एक्लो गरिव मान्छे हो, घर सबै भत्किएर बिजोग भएको छ, पानी परेर लुगाफाटो घर अस्तव्यस्त हुन्छ’, सरकारले घर बनाउ भनेर हातमा राखी दिएको पैसा वडा अध्यक्षले लगिदिएको भन्दै माक्राले पीडा व्यक्त गरेका छन् ।

बिज्ञापन


परिवारका सदस्य कोहि नभएका माक्रा पुरानो ग्वालडुब्बाका पुराना वासिन्दा हुन् । अति विपन्न परिवारमा पर्ने माक्राको घर भत्किएर जिर्ण भइसकेको अवस्था देखेपछि स्थानीयले सिफारिस गरिदिएको आधारमा उनलाई बिपन्न आवास बाट पाउने नगद ५० हजारको लागि फारम भराइएको थियो ।

वृद्ध माक्राको घर जिर्ण छ, उनी भत्किएको घरमा एक्लै बस्छन् , असार महिनामा पाएको पैसाले जस्तापातासम्म लगाउन नपाउदा कष्टकर अवस्थामा बस्न बाध्य छन् ।

‘२ किस्ता गरेर ५० हजार दिने भनेका थिए, पहिलो किस्ता बापतको ३० हजार वडा अध्यक्ष खरेल घरमै आएर चेक लिएर जानुभयो । अहिलेसम्म घर बनिने अत्तोपत्तो छैन’, माक्राले चिन्तित हुँदै बताए ।

त्यसो त विपन्न आवास योजनाको पैसा पाउने धेरै जसो बिपन्न समुदायबाट वडा अध्यक्षले आफैं टिन किन्दिने भन्दै पैसा फिर्ता लगेको बुझिएको छ । तपाईंहरुले टिन किन्दा महंगो पर्छ, म सस्तोमा ल्याइदिन्छु भन्दै घर घरमा आएर पैसा लिएर गएको स्थानीयले गम्भीर आक्रोश व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा ओमकार प्रतिनिधिले वडा अध्यक्ष खरेलसंग जिज्ञासा राख्दा `हामीले यसरी दिएका धेरै पैसा दुरुपयोग भएका छन् , उहाँले पनि दुरुपयोग नगर्नुहोस् भनेर पैसा वार्डमै राखेको हो ।´ खरेलले प्रष्ट पार्दै भने ` विपन्न आवास योजना अन्तर्गत संघीय सरकारबाट ५० हजार रुपैया आएको हो र वडाले त्यसमा ५५ हजार थपेर १ लाख ५ हजार पारेर वडाकै रोहवरमा दुई कोठाको घर बनाइदिन्छौंं ।´

जनप्रतिनिधिको नियत राम्रो हुदाहुदै पनि पीडितलाई प्रष्ट परेर काम गरिएको भए राम्रो हुने र गरीब जनताको गाँस,बाँस,कपास जस्तो अति संबेदनसिल बिषयमा ढिलासुस्ती नगर्ने कुरामा चनाखो हुन सबैले सोच्ने बेला आएको छैन र ?