
इलाम : पूर्वी नेपालमा पहिलो पटक पाटेबाघ भेटिएको छ । इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन ।कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।

यो रेकर्डसँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू–परिधिमा बिरालो प्रजातिको संख्या ८ पुगेको छ । चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलिला निकुञ्जसँग जोडिएको छ ।



विभाग र रेडपाण्डा नेटवर्कले हाब्रेको घाँटीमा जीपीएस कलर जडान गरी संयुक्त रुपमा रेडपाण्डाको अनुगमन गरिरहेका छन् ।यसअघि गत चैतमा डडेलधुरामा २५०० मिटर उचाइमा बाघ भेटिएको थियो । भारतमा ३६३० र भुटानमा ४४०० मिटर उचाइसम्म बाघ भेटिएका छन् ।
