
काठमाडौं : ग्लोबल आइएमई बैंकले पाँच जिल्लामा ६ वटा नयाँ शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिकाअन्तर्गत फुलगा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बाग्लुङको बाडिगड गाउँपालिका सिमल चौर र पाँचथरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।



६ नयाँ शाखासहित बैंकको शाखा २ सय ३८ पुगेको बैंकले जनाएको छ ।

बैंकले तेह्रथुमको फेदाप गाउँपालिका २ ओयाकजुङमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्रकला ढकाल, धनुषाको नगराईन नगरपालिका ४ फुलगामा राजकुमार शाह, दैलेखको दुल्लु नगरपालिका ७ दुल्लुमा दामोदर उपाध्याय, दैलेखकै भैरबी गाउँपालिका ५ दादिमाडी बजारमा बखतबहादुर शाही तथा बाग्लुङ्गको बाडिगड २ सिमलचौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराललाई प्रतिनिधि नियुक्त गरेको छ । यस्तै पाँचथरको याङवरक गाउँपालिका १ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना २१ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।