राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं ; राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । परिषद ऐनमा अध्यक्ष र चार सदस्य उपस्थित भएपछि मात्रै परिषद बैठकको गणपुरक संख्या पुग्ने कानुनी व्यवस्था छ ।

सभामुख अनुपस्थित भएपछि परिषद बैठक बस्नै नसक्ने परिस्थिति उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले मंगलबार आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक डाकेर अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

जारी अध्यादेशमा अध्यक्ष र चार सदस्य उपस्थित हुनुपर्ने कानुनी व्यवस्था संशोधन गरिएको अनुमान गरिएको छ । अध्यादेशबारे विस्तृत विवरण आइसकेको छैन । तथापि प्रधानमन्त्री ओलीलाई परिषद बैठक डाकेर निर्णय गर्न सहज हुने गरी अध्यादेश ल्याइएको हुनसक्ने कानुनविदले बताएका छन् ।