आजदेखि फेरि सुरु भयो काठमाडौं–दिल्ली नियमित उडान

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको काठमाडौं-दिल्ली उडान आजदेखि सूचारु भएको छ । आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन र हवाई उडानमा प्रतिवन्ध लगाएको थियो । त्यससँगै काठमाडौं-दिल्ली उडान रोकिएको थियो ।

आज नेपाल एयरलाइन्सको ए–३२० जहाज साढे ११ बजे दिल्लीका लागि उडेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । काठमाडौंबाट नेपाल एयरलाइन्सको एक जहाज दैनिक दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । नेपाल र भारतबीच दैनिक एक-एक वायुसेवाबाट उडान गर्ने सहमति बनेको छ ।

बिज्ञापन

यसअनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ । उक्त कम्पनीले भने उडान मिति तोकिसकेको छैन । खुलेको उडानमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड भने यात्रुले पुरा गर्नुपर्नेछ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् ।