
विराटनगरमा गएराति भएको आगलागीमा परेर एक बालकको मृत्यु भएको छ । आगलागीबाट दुई जना घाईते भएका छन् ।जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो ।

आगलागीमा परि ३२ वर्षीय श्रीमती इन्दुदेवीदास र ७ वर्षीय छोरा किसनकुमार दास जलेर घाइते भएका छन् । राजेशकुमार भने शनिबार पाहुना गएका थिए । घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको छ । चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो ।
बिज्ञापन



सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए । आगलागीमा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
