प्रतिनिधिसभा विघटनले मर्माहत बनायो : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहत बनाएको बताएका छन् ।  सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले सो कुरा बताएका हुन् ।

‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो । उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नुभएको छ,’ उनले भने,  ‘नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिएँ, आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छ ।’ त्यसैगरी, उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।‘गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् ।

त्यो संस्थामा चोट पुगेको छ ।’ जनताको सर्वोच्च निकाय संसदबाटै समस्याहरूको छिनोफानो गरेर अगाडि बढ्न उनको सुझाव छ । त्यसैगरी उनले यो विषय  सर्वोच्च अदालत पुग्नै पर्ने बताएका छन् । ‘यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्छ,’ उनले भने, उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नै पर्छ भन्ने विनम्र आग्रह पनि छ ।’