
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको भवन उद्घाटन भएको छ । करिब साढे २ अर्ब अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उद्घाटनलगत्तै पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले महान्यायाधिवक्ता अग्नि खरेललाई साँचो हस्तान्तरण गरेका थिए । भवन हस्तान्तरण भएपछि महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन समेत यही भवनमा आयोजना गरिएको छ ।
सिंहदरबार परिसरमा ९ हजार १ सय ४६ वर्गमिटरमा फैलिएको उक्त भवनमा ४२ वटा कोठा, पार्किङ, आफ्नै आफ्नै खानेपानी प्रणाली पार्किङसहितको सुविधासम्पन्न भवन रहेको पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । यो भवन निर्माणपछि साँघुरो र सानो भवनबाट काम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयको काम सहज हुने विश्वास उनले व्यक्त गरे ।
२०२७ सालमा महान्यायाधिवक्ताको कार्यालय निर्माण भएको थियो । भुकम्पपछि भवन बस्न नमिल्ने गरी चर्किएको थियो । भूकम्पपछि २ वर्षसम्म सोही भवनबाट काम चलाएको महान्यायाधिवक्ताको कार्यालय अहिले सर्वोच्च अदालत पछाडि प्रिफ्याबको भवनमा अस्थायी रुपमा सरेको थियो । अब सो कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सर्नेछ ।