ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ

सुर्खेत । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न खोज्दा आर्थिक प्रलोभन देखाउन खोज्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

बुधबार ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा भेरीगङ्गा नगरपालिका १३ भेरी पुलको सडक खण्डमा जाँच गर्ने क्रममा कारबाही गर्न खोज्दा पैसा दिन खोजेपछि उनीहरुलाई प्रक्राउ गरिएको हो । प्रमुख आचार्यले चारजना चालक र दुईजना सहचालकलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कैलालीका विवेक सिंह, अर्घाखाँचीका कलम पुन, चितवनका कृष्णबहादुर नेपाली, बाँकेका सुनील विश्वकर्मा, प्रमोद विक, सुर्खेतका कमल रजा छन् । उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।