संवैधानिक इजलासमा बहस, वृहत् पूर्ण इजलास गठनको माग

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनउपर सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस शुरु भएको छ । बहसका क्रममा रिट निवेदकहरुले वृहत् पूर्ण इजलास गठन गर्न माग गरिरहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले त्यसको सुनुवाइ संवैधानिक इजलासबाटै गर्ने भन्दै शुक्रबार संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा जबरा बाहेक न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । यसअघि मल्लाको स्थानमा न्यायाधीश हरिकृष्ण कार्की थिए । अघिल्लोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका कारण कार्कीले मुद्दा हेर्न नमिल्ने भन्दै कानुन व्यवसायीहरुले नैतिक प्रश्न उठाएपछि उनी बाहिरिएका थिए । त्यसपछि प्रधानन्यायाधीश जबराले कार्कीको स्थानमा मल्ललाई इजलासमा राखेका छन् । रोष्टरमा रहेका वरिष्ठ न्यायाधीशहरुलाई उनले राखेनन् ।

बिज्ञापन

आज पुनः बहस शुरु भएलगत्तै रिट निवेदकहरुले पुरानै अडान दोहोराएका छन् । उनीहरुले वृहत् पूर्ण इजलासबाट मात्रै प्रतिनिधि सभा विघटनको सुनुवाइ हुनुपर्ने माग राखेका छन् । यसअघि चार पटक प्रतिनिधि सभा विघटन हुँदा सर्वाेच्चका ११ न्यायाधीश सम्मिलित पूर्ण इजलास गठनको नजीर देखाउँदै त्यसै नजीरअनुसार वृहत् पूर्ण इजलास गठन गर्न प्रधानन्यायाधी शसमक्ष तर्क राखेका छन् । तर प्रधानन्यायाधीशले भने केही जवाफ दिएका छैनन ।