अर्को सूचना जारी नहुन्जेलसम्मका लागि  प्रदेश १ को हिउँदे अधिवेशन  स्थगित

प्रदेश नं १ को हिउँदे अधिवेशनको आज बसेको पहिलो बैठक ३ मिनेट पनि नबसी स्थगितभएको छ । हिउँदे अधिवेशनको अर्को बैठक कहिले बस्ने भन्ने बिषयको टुंगो नलागी आज बसेको बैठक स्थगित भएको हो । सभामुखप्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्धारा संसदको सातौं तथा हिउँदे अधिवेशन आव्हान गरिएको पत्र पढेर सुनाए सँगै अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

यसअघि नेकपाका दुवै पक्षले एक अर्कालाई प्रदेशसभा निषेध गर्ने रणनीति बनाएको भएपनि संसद सुरु हुनु अगावै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार संसदीयदलका नेताहरुले सम्बोधन गर्ने संसदीय परम्परा तोड्दै सिधै प्रदेश प्रमुखको पत्र पढेर सुनाएर बैठक स्थगित भएको हो । नेकपा विभाजन पछि बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईद्धारा निलम्बित प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहले बनाएको थियो । यसैगरी प्रचण्ड–माधवपक्षले राईलाई संसदीयदलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।तर, प्रदेशसभा बैठकमा भने निलम्बन गरिएका भनिएका सांसदहरुको पनि सहभागिता रहेको थियो ।

बिज्ञापन

अब भने निलम्बित सांसदहरुको बिषयमा आवश्यक छलफल पछि मात्र संसद पुनः सुचारु हुने नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले बताउनुभयो । उहाँले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पनि असफल हुुने दाबी गर्नुभयो । सम्बन्धित बिषयमा बोल्नुहुँदै प्रदेश नं. १ का तत्कालिन आर्थिक मामिला तथा योेजनामन्त्री ईन्द्रबहादुर आङबोले प्रदेशसभाले गरेको निर्णय माथि सहमति जनाउनुभएको छ । उहाँले अविश्वासको प्रस्ताव उपर आवश्यक छलफल हुने बिषयमा आफु विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।

त्यसैगरि नेपाली काँग्रेसले भने आगामी हप्ता दिनभित्रै हिउँदे अधिवेशनको अर्को बैठकका लागी प्रस्ताव गरेको दलकाप्रमुख सचेतक केदार कार्कीले जानकारी दिनुभयो । प्रदेशसभामा भने मुडभेडको स्थिति सिर्जना हुनेसक्ने आँकलन सहित मर्यादापालकहरुको संख्या बढाईएको थियो । संसद बाहिर पनि सुरक्षा व्यवस्थामा कडाई गरिएको थियो ।