विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया सुरु

विराटनगर/  विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक व्यक्तिको जग्गा अधिग्रहण  गर्न मालपोत कार्यालयले रोक्का प्रक्रिया सुरु गरेको छ । जग्गा आपूर्ति ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको पछिल्लो बैठकले आवश्यक पर्ने क्षेत्रफल भित्रका व्यक्तिको जग्गा यकिन गर्न मालपोत कार्यालयलाई निर्देशन गरेको हो । विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नु अगाडी नेपाल नागरिक उड्डयन प्राधिकरणले बाउण्ड्री ‘बेन्चमार्क’ सर्भे गरिसकेको छ । त्यसैका आधारमा त्यस क्षेत्रभित्र पर्ने व्यक्तिका सबै जग्गाको तीनपुस्ते विवरण यकिन गरेर खरिद–बिक्री रोक्नका लागि मालपोत र नापी कार्यालय, विराटनगरलाई जिम्मेवारी दिइएको हो ।

साविक विमानस्थलाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको छ । विराटनगर विमानस्थलका प्रमुख उत्सवप्रसाद खरेलका अनुसार विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया सुरु गरिएको छ । बाउण्ड्री सर्भेभित्र परेका जग्गाको कित्ता नम्बर नापी कार्यालयले यकिन गरिसकेको छ । अब मालपोत कार्यालयले त्यो जग्गाको तीनपुस्ते विवरण तयार पार्नेछ ।

बिज्ञापन

विमानस्थल विस्तारको प्रारम्भिक चरणमै नयाँ टर्मिनल भवन निर्माण गरिने भएकोले साविक विमानस्थलको पूर्व–उत्तरतर्फको जग्गा आवश्यक पर्नेछ । त्यसका लागि प्राधिकरणले चालु आर्थिक वर्ष भित्रै जग्गा अधिग्रहण गर्ने योजना राखेको छ । प्राधिकरणले १० बर्ष भित्रमा विराटनगर विमानस्थललाई २ हजार ५ सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ । त्यसका लागि जग्गा बाहेक १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि ४ अर्ब खर्च हुने अनुमान गरिएको छ । यसैगरी २०२४–२०२६ मा एप्रोच लाईट व्यवस्थापन लगायतका लागि २ अर्बको खर्च हुने अनुमान गरिएको छ । २०२७–२०३० मा ७ अर्ब बराबरको थप संरचना निर्माण गरिने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।

विराटनगर  विमानस्थल विस्तारका लागी भने २०७६ असोज १९ गते नै तीनै तहका सरकारबिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । देशका अन्य ३१ विमानस्थल स्तरोन्नति हुँदै नेपाल नागरिक उड्यन प्राधिकरणले विराटनगर विमानस्थलका साथै देशभरिका अन्य ३१ आन्तरिक विमानस्थलहरूको पनि स्तरोन्नति तथा निर्माण कार्य गरिरहेको छ । प्राधिकरणले आन्तरिक विमानस्थलहरु अन्तर्गत चन्द्रागढी, भरतपुर, राजविराज, नेपालगञ्ज र धनगढी लगायतका १० ठुला र अन्य २१ साना विमानस्थलको स्तरोन्नति तथा विस्तार गरिरहेको जनाएको छ ।

जसअन्तर्गत सरकारको ५ बर्षे गुरुयोजना अन्र्तगत हाल जोमसोम, रारा, साँफे, रामेछाप, लामिडाँडा, खिजि–चन्द्रेश्वरी, ईलाम, गुल्मी, बैतडी, बझाङ, रुम्जाटार, डोटी, फाप्लु, डोल्पा, खानीडाँडा, थमखर्क, कालिकोट र महेन्द्रनगर लगायतका विमानस्थलहरुमा विकास निमार्णको कार्य तीव्र गतिमा भईरहेको छ । कोभिड–१९ का कारण बिचमा सुस्त भएको विमानस्थलहरूको स्तरोन्नतिले पछिल्लो ६ महिना यता गति लिएको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँले हाल देशभर ५४ विमानस्थलमध्ये ३२ विमानस्थल सञ्चालनमा रहेको जानकारी दिनुभयो । यी विमानस्थलमध्ये मात्र ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको उहाँको भनाई छ ।

यस्तो छ देशभरका साना विमानस्थलको पछिल्लो अवस्था
सिमीकोट विमानस्थल
हुम्लाको सिमिकोट विमानस्थलमा एप्रोन तथा हेलिप्याड निर्माणको कार्य सम्पन्न भएको छ । निर्माणका क्रममा बेस कुटने कार्य जारी छ । धावनमार्ग, ट्याक्सी वे, ऐप्रोन ओभरले एंव फेन्सिङ, धावनमार्गको ओभरले तथा मार्किङ लगायतका कार्य सम्पन्न भईसकेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलमा टर्मिनल भवन निर्माणको कार्य पनि सम्पन्न भईसकेको छ भने धावनमार्ग निर्माणको कार्य जारी रहेको प्राधिकरणकी सुचना अधिकारी नारायण देवी श्रेष्ठले बताउनुभयो । विमानस्थलमा ३ डि.एच.सी–६ जस्ता विमानहरू पार्क गर्न सकिनेगरि पार्किङ स्थल निर्माण गरिने भएको छ । यसका लागि कुल २० करोड लागत अनुमान गरिएको छ ।

ताप्लेजुङ विमानस्थल

ताप्लेजुंङ विमानस्थलमा धावनमार्ग विस्तार तथा विमानस्थल सुदृढीकरण आयोजनाको जमिन कटानको कार्य ६० प्रतिशत सम्पन्न भईसकेको छ । रनवे विस्तारका क्रममा १५० मिटरमा कालोपत्र गर्ने कार्यको थालनी भएको जनाईएको छ । ताप्लेजुङ विमानस्थलमा हाल ७ मिटरको रनवे रहेको छ । यसलाई ८ सय ५० मिटरमा स्तरोन्नति गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसका लागि ८ करोड लागत अनुमान गरिएको छ । रनवे स्तरोन्नतिपछि यस विमानस्थलमा एटीआर–४२ जस्ता विमानहरू सञ्चालन गर्न सकिने प्राधिकरणको दाबी छ ।

रामेछाप विमानस्थल
रामेछाप विमानस्थलमा चालु आ.ब.बाट धावनमार्ग विस्तार कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य सुरू भएको छ । यस विमानस्थलमा रिभर ट्रेनिङ, रिटेनिङ स्ट्रक्चर तथा ड्रेनेज निर्माण कार्यको रिभर ट्रेनिङको कार्य सम्पन्न भएको छ । रामेछाप विमानस्थलमा नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर निर्माण कार्य डिजाईन र ड्रइंग तयार गरिँदै छ । हाल ५ सय ३० मिटर लामो रनवे रहेकोमा मास्टर प्लान अनुसार यसलाई विस्तार गरेर १ हजार मिटरमा स्तरोन्नति गरिने छ । रनवेको स्तरोन्नतिपछि रामेछाप विमानस्थलबाट एटीआर ४२ विमान समेत उडाउन सकिने प्राधिकरणको अध्ययन छ । यो विमानस्थल स्तरोन्नतिका लागि २१ बिघा जमिन अधिग्रहण गर्नुपर्ने भएको छ । यस विमानस्थलको स्तरोन्नतिका लागि ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

लुक्ला विमानस्थल
लुक्ला विमानस्थलमा हेलिपोर्ट निर्माण कार्यका लागि चेनलेन फेन्सिङ, ड्रेनेज र टर्मिनल भवन निर्माणको कार्य सम्पन्न भईसकेको छ भने हेलिप्याडको एप्रोनमा बेस हाल्ने काम हुँदैछ । लुक्ला विमानस्थल स्तरोन्नतिका क्रममा यहाँ हेलिकप्टर पार्किङ स्थल बनाईन लागिएको छ । विमानस्थलमा ६ वटासम्म हेलिकप्टर अट्ने प्राधिकरणको प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । हेलिकप्टरका लागि छुट्टै टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थलमा ५ सय २७ मिटरको धावनमार्ग बनाइने जनाईएको छ ।

गुल्मी विमानस्थल
गुल्मीको रेसुंगा विमानस्थलमा धावनमार्ग ट्याक्सी वे, एप्रोन कालोपत्रे र ड्रेनेज तथा अन्य निर्माणको कार्य ५० प्रतिशत सकिएको छ । विमानस्थलमा चेनलिङ फेन्सिङ निर्माण कार्यको साईट क्लियर गरी पर्खाल र ग्याबिन लगाउने कार्य जारी छ । टर्मिनल भवन र कर्मचारी आवास गृह निर्माण कार्य भने सम्पन्न भएको प्र्राधिकरणले जनाएको छ ।

डोल्पाको जुफाल र मसिनेचौर विमानस्थल
डोल्पाका २ विमानस्थल पनि स्तरोन्नति र विस्तारको चरणमा छन् । यी विमानस्थलहरुमा पनि निमार्ण कार्य धमाधम भईरहेको छ । जुफाल विमानस्थलमा चेनलिङ्क फेन्सिङ निर्माण कार्य अन्तिम चरणमा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीको भनाई छ । उहाँका अनुसार मसिनेचौर विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माणका कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलमा टर्मिनल भवन निर्माण कार्यको रंगरोगन गर्ने कार्य जारी छ ।

जोमसोम विमानस्थल
जोमसोम विमानस्थल विस्तारको लागि परामर्श दाता नियुक्त गरि सर्भे गर्ने कार्य सम्पन्न भएको छ । जोमसोम विमानस्थलमा नदी नियन्त्रण तथा विमानस्थल सुदृढीकरण कार्यको लागि डिजाइन, ड्रइङ तथा लागत अनुमानको कार्य भईरहेको छ । जोमसोम विमानस्थलमा ८ सय १५ मिटरको रनवे कालोपत्र गर्ने काम पूरा भएको छ । जोमसोमका लागि एटीआर ४२ विमान सञ्चालन गर्ने योजना बनाईएको छ । अबको साढे २ वर्षमा जोमसोमको रनवेलाई ३०० मिटर थप गरिने योजना रहेको छ । यसका लागि अध्ययन भइरहेको क्यानले जनाएको छ ।

रारा विमानस्थल
राराको मुगु विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्वपट्टी पहिरो नियन्त्रण कार्य वहुबर्षिय आयोजना अन्तर्गत भईरहेको छ । माइक्रो पिलिङको काम भने सम्पन्न भईसकेको छ । यस विमानस्थलमा टर्मिनल भवन निर्माणको कार्य सम्पन्न भई कन्ट्रोल टावर निर्माण गरिँदै छ । रनवे विस्तारका लागि भने सम्भावना नभएकाले त्यसमा केही कार्य अघि बढेको छैन । यसमा हाल निमार्ण हुने भौतिक संरचनाका लागी १४ करोड लागत अनुमान गरिएको छ ।

तुम्लिङटार विमानस्थल
तुम्लिङटार विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण अन्तर्गत एक तल्ले भवन को पूरै स्ल्याब ढलान भईसकेको छ । ढुंगामाटो तथा ढलानको काम जारी छ । विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले तथा ड्रेनेज सुधारका क्रममा फायर एक्सेस रोड निर्माणका लागि सब ग्रेड बनाउने तयारी भईसकेको छ । साथै गिट्टी ढुंगा संकलन भईरहेको छ ।

सिमरा विमानस्थल
यस विमानस्थलमा पेरिफेरि रोड तथा एक्सेस रोड निर्माण कार्य तथा धावनमार्ग, ट्याक्सी वे ओभरले कार्यका टेण्डर आव्हान भएको छ । यस विमानस्थलमा कन्ट्रोल टावर तथा अफिस भवन निर्माणको कार्य जारी छ ।
साँफेबगर विमानस्थल
यस विमानस्थलमा टावर र टर्मिनल भवन निर्माण कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भईसकेको प्राधिकरणले जनाएको छ । विमानस्थलमा चेनलिंक फेन्सिङ, पोल फिटिङ र नेट लेइङको काम हुँदैछ ।

अन्य विमानस्थलहरू
यस्तै कालीकोट विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माण कार्यका लागि वाल कन्स्ट्रक्सन, बेस कोर्स लेइङ र नेट लेइङको काम भईरहेको छ । विमानस्थलमा चेनलिङ्क फेन्सीङ, पोल फिटिङको काम हुँदै छ ।
बाजुरा विमानस्थलमा एक्सेस सडक, फेन्सिङ तथा टेवा पर्खाल निर्माण कार्यको रिटेन्डिङ वाल हाल्ने कार्य भइरहेको प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाई छ । उहाँका अनुसार बाग्लुङ वलेवा विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, कालोपत्र तथा फेन्सिङ ड्रेनेज तथा अन्य निर्माण कार्यका अन्तिम चरणमा छन् ।

पालुङटार विमानस्थलमा पनि धावनमार्ग ट्याक्सी वे, एप्रोन, ड्रेनेज, एक्सेस रोड र पेरिफेरी रोडको निर्माण कार्य अन्तिम चरणमा छ । यस्तै महेन्द्रनगर विमानस्थल सुदृढीकरणका लागी लागत अनुमान तयार पार्ने कार्य भर्खरै सम्पन्न भएको छ । ईलाम विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्र, ड्रेनेज, फेन्सिङ तथा अन्य कार्यको अर्थवर्क, सब बेस, बेस, ड्रेनेज लगायत कार्य सम्पन्न भइसकेको र कालोपत्रे गर्ने तयारी भईरहेको क्यानले जनाएको छ ।

क्यानका अनुसार स्याङबोचे विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन र ड्रेनेज निर्माण कार्य गर्नका लागि सर्भेको कार्य सम्पन्न भएको छ ।
सञ्चालनमा आएका विमानस्थल
बझाङ विमानस्थलमा रनवे, ट्याक्सी वे तथा एप्रोन कालोपत्रे र टेवा पर्खालको निर्माण कार्य सम्पन्न भइसकेको छ । २०७७ असोज १७ मा परिक्षण उडान गरी सो विमानस्थल सञ्चालनमा आईसकेको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँले असोज १७ देखि बैतडी विमानस्थल तथा डोटी विमानस्थलमा पनि सञ्चालनमा आईसकेको जानकारी दिनुभयो ।