नेपाल पत्रकार महासंघको निर्वाचन समिति गठन

नेपाल पत्रकार महासंघले निर्वाचन प्रक्रिया सम्पन्न गर्न पत्रकार कपिल काफ्लेको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । समितिमा अधिवक्ताहरु अरुण पौडेल, हरिन्द्र राई, विष्णुमाया भुषाल, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा र सचिव भक्तिराम घिमिरे रहेको महासंघले जनाएको छ ।

समितिले महासंघको केन्द्रीय समितिसँगको परामर्शमा विधान बमोजिम समयभित्र निर्वाचन मिति तोक्ने, निर्वाचन सञ्चालन कार्यविधि बनाउने र प्रदेश तथा शाखामा गठित निर्वाचन समितिलाई अनुगमनसमेत गर्नेछ ।  महासंघको  २६औं महाधिवेशन भने आगामी फागुन ४ र ५ गते काठमाडौंमा हुँदैछ । महासंघको नयाँ नेतृत्व चयनको मिति तय हुन बाँकि छ । महाधिवेशनको ३० दिनभित्रमा चुनाव गरिसक्नुपर्ने वैधानिक व्यवस्था छ । महासंघको केन्द्र, प्रदेश र शाखा गरी तीन वटै तहमा एकै दिन चुनाव हुनेछ ।

चुनावमा सबै साधारण सदस्यले मतदान गर्न पाउनेछन् । यसअघि पार्षदहरुले मात्र मतदान गर्न पाउने ब्यवस्था थियो । यस्तै महासँघले केन्द्रीय महाधिवेशनका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरु, सबै प्रदेशका अध्यक्षहरु, एशोसिएट संस्थाका अध्यक्षहरु, उपत्यकाका शाखा अध्यक्षहरु एवम् पत्रकारिता क्षेत्रका विभिन्न पेशागत संघ संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि रहने महासँघले जनाएको छ । महाधिवेशनको उद्घाटन फागुन ५ गते बिहान ८ बजे शुरु हुने र ११ बजेदेखि बन्द सत्र सञ्चालन हुने महासचिव रमेश विष्टले जानकारी दिए ।