
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको हो ।यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।

नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसद समेत रहेकी झाँक्रीले काठमाडौँमा भएको बुधबारको बिरोध सभामा राष्ट्रपति सम्मनित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन् । ‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा महिलाको अस्मिता मिचिदैन बरु भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ । राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन’, झाँक्रीले बुधबार काठमाडौमा भएको सभामा भनेकी थिइन् ।



