
धनकुटा — धनकुटा नगरपालिका क्षेत्रमा ड्रागन फलको खेती विस्तार सुरु भएको छ । सिँचाइ सुविधा अभाव र प्राकृतिक पानीका मुहान सुक्दै गएपछि अन्नबाली उत्पादनमा समस्या भोग्दै आएका किसानले ड्रागनलाई वैकल्पिक खेतीका रूपमा लिएको जनाएका छन् । धनकुटा नगरपालिका–८ सान्ताङमा किसानले लगाएको ड्रागन फल । दुई वर्षअघि धनकुटा नगरपालिका–८ अन्तर्गत सान्ताङ, टेकुनाला, चुलिबन, याक्तेलगायत क्षेत्रमा समूह गठन गरेर ड्रागनको खेती थालिएको थियो । यस क्षेत्रलाई ड्रागन फलको स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसाथ कार्यक्रम अघि बढाइएको नगरपालिकाका कृषिविज्ञ जीवन राईले बताए । पछिल्लो समय नगर क्षेत्रका दुई सयभन्दा बढी परिवार यो खेतीमा संलग्न रहेको नगरपालिकाको भनाइ छ ।

खेतीको सम्भावना पहिल्याउँदै जाँदा यो क्षेत्रमा ड्रागन फल उपयुक्त देखिएकाले पकेट क्षेत्र विकास गर्न कार्यक्रम सुरु गरिएको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए । ‘ड्रागन फल खेतीका लागि यहाँको भूगोल उपयुक्त देखियो,’ उनले भने, ‘यसले यहाँका स्थानीयको जीवनस्तर उकास्ने नगरपालिकाको विश्वास छ ।’ नगरपालिका क्षेत्रका टेकुनाला, चुलिवन, सान्ताङ, याक्तेलगायत क्षेत्रमा ६ वटा समूह निर्माण गरिएको छ । नगरभित्रका विभिन्न वडाका सुक्खाग्रस्त क्षेत्रका स्थानीयको जीवनस्तरमा वृद्धि गर्ने उद्देश्यले माटो परीक्षण गरेर हावापानी सुहाउँदो ड्रागन लगाउन थालिएको राईले जानकारी दिए ।



