राजश्व कार्यालयका कर अधिकृत १ लाख ५० हजार घुससहित पक्राउ

धनुषाको जनकपुरधामस्थित आन्तरिक राजश्व कार्यालयका कर अधिकृतसहित २ जना १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत रमेश ढकाल र आरएन मेनेजमेन्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमार कर्ण छन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । अख्तियारका अनुसार कर अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गरिदिने भनेर १ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए । उनले उक्त घुस रकम उठाउनका लागि आरएन मेनेजमेन्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमारलाई परिचालन गरेका थिए ।

कर अधिकृत ढकालले अह्राएबमोजिम घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नविन कुमारलाई पक्राउ गरेको हो । नविन कुमारलाई जनकपुरस्थित अन्नपूर्ण होटलबाट पक्राउ गरेको हो । कर अधिकृत ढकाललाई भने धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।