
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकले जागिर छोड्नु पर्ने बताउनु भएको छ ।




चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम हाम्रो चाँगुनारायण पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अबको साममुदायिक शिक्षा प्रभावकारी बनाउन नसक्ने शिक्षकले जागिर छोडी नयाँ शिक्षकलाई ठाउँ खालि गर्नु पर्ने बताउनुभयो ।

देशभर अहिलेपनि करिब ७ लाख शिक्षण अध्यापन अनुमतिपत्र प्राप्त गरेका शैक्षिक बेरोजगार भएको उहाँले बताउनुभयो । मन्त्री पोखरेलले भने, ‘हामी केही समयपछि स्थानीय तहमा शिक्षक पठाउँदै छौं । तर केन्द्र सरकारले पठाएको शिक्षकले सबैमा नपुग्न सक्छ, त्यसैले शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनु जरुरी छ ।’
मन्त्री पोखरेलले विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मुल्यांकन गर्ने शिक्षा प्रणाली गलत भएको बताउनुभयोे ।
चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ नामक एक सय पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरी लागू कक्षा–६, ७ र ८ मा एकै पटक लागू गरेको छ । चालु शैक्षिक सत्रबाट लागू गरिएको पाठ्यक्रम आगामी वर्षबाट थप परिस्कृत र परिमार्जनसहित अन्य कक्षाहरुमा समेत लागू गरिने नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताउनु भयो ।