देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले वायु प्रदुषणका कारण देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायत बैठकमा उपस्थित थिए । बैठकमा निर्णय लिनुअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताका कारण देशभरका सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका थिए । बैठकले भोलि मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।