
काठमाडौं । कोरोनाको दोस्रो लहरले पुनः मनोरञ्जन क्षेत्रलाई प्रभावित पार्ने देखिएको छ । नयाँवर्ष २०७८ पनि कोरोनाकै कहरमा प्रताडित हुने चिन्ता सर्वत्र छाएको छ ।

सेलेव्रिटी पनि कोरोनासँगै कसरी नयाँवर्षलाई अघि बढाउने चिन्तनमा छन् । बैशाख १ गते जन्मदिन मनाउन लागेका दीपकराज गिरीले आफ्नो नयाँवर्ष संकल्प सार्वजनिक गरेका छन् ।



जसमा उनले फुर्सदिलो हुने नयाँ वर्षको समयलाई समाजसेवामा लगाउने योजना बुनेका छन् । यसका लागि दीपकले जन्मथलो काठमाडौंको चन्द्रागिरीस्थित दहचोकमा अर्गानिक फार्महाउस बनाउने र त्यहाँ फिल्म छायांकनका लागि स्टुडियो बनाउने योजना बुनेका छन् ।

‘नयाँवर्ष व्यक्तित्व सुधारका साथै आफ्नै जन्मथलोमा केही काम गरौं कि भनेर मनाउने विचारमा छु’ दीपकले नेपालप्रेससँग भने, ‘यसका लागि फार्म हाउस र फिल्म स्टुडियो बनाउने विचारमा छु ।’ उनले पुराना शैलीका घर र संरचना बनाएर स्थापना गर्न भनेको अर्गानिक हाउसमा फिल्म सुटिङ गर्ने मिल्ने भएको छ ।