उर्लाबारी नगरपालिकाका मेयर फागोको बिरुद्धमा एमाले र युवा संघले निकाल्यो विज्ञप्ति

उर्लाबारी ।गत चैत ३० गते उर्लाबारी नगरपालिका परिसरमा सेवाग्राहीमाथि भएको आक्रमणले स्थानीयवासीमा सन्त्रास छाएको जनाउदै नेकपा एमाले उर्लाबारी नगर कमिटीले निश्पक्ष छानबिनको माग गरेको छ ।

बिहिवार नगर कमिटी अध्यक्ष उमाकान्त गौतम र नगरका सह–इञ्चार्ज पुष्प ढकालले विहीबार विज्ञप्ति जारी गरी सो घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘यस्ता घटनाले आम नगरवासीप्रति मनोत्रास उत्पन्न भएको छ’ विज्ञप्तिमा भनिएको छ– स्थानीय सरकारप्रति नै वितृष्णा हुने हुँदा यस्ता गतिविधि नदोहोरिने गरी सत्यतथ्य छानबिनको माग गर्दछौ ।

यस्तै, एमाले भातृ संगठन यूवा संघ उर्लाबारीले पनि घटनाको निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिएको छ । नगर अध्यक्ष योगेश बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘दण्डहिनतालाई अन्त्य गर्दै निर्दोसलाई रिहाइ र दोषीलाई कारबाहिको दायरामा ल्याउन जोडदार माग गर्दछौ ।’ यसअघि मंगलबार माओवादी केन्द्र उर्लाबारीले पनि विज्ञप्ति जारी गरी उर्लाबारी नगरपालिकामा सेवाग्राहीमाथि भएको घटनाको निन्दा गरेको थियो ।


आफ्नो भवन निर्माण कार्य रोकिएको विषयमा जानकारी लिन जाँदा उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारी र उनीसंगै रहेका उर्लाबारी–८ का नारायण बस्नेतमाथि नगर पालिकाका मेयर खड्ग फागोको अगुवाइमा सांघातिक हमला भएको थियो । कुटपिटमा मेयरका भतिजो दुर्गा फागो र मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमालकोपनि संलग्नता रहेको पाइएको छ । यद्यपि, पीडित बस्नेतलाई भने उल्टै इलाका प्रहरी कार्यालय उर्लाबारीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको छ । नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेले दिएको उजुरीका आधारमा बस्नेतलाई मुद्दा चलाइएको प्रहरी निरीक्षक कुन्दन देवको भनाइ छ । पीडित मध्येका विष्णुप्रसाद भण्डारीले मेयर फागोसहितलाई प्रतिवादी बनाउदै दिएको उजुरीलाई ‘ठाडो निवेदन’ भन्दै प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अवरोध गरेको भन्दै भण्डारी सो विषयमा कारण खोज्दै नगरपालिका पुगेका थिए।

न्यायका लागि अपिलः

यसैबीच उर्लार्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोसहितको टोलीले श्रीमानमाथि साङ्घातिक आक्रमण गरेको भन्दै श्रीमतीले न्यायका लागि आग्रह गरेकी छन् । बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै श्रीमती नीता बस्नेतले न्यायका निम्ति आग्रह गरेकी हुन् ।