
निजगढ : संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं तराई मधेश द्रुतमार्गको स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति कल्याणीकुमारी खडको नेतृत्वमा समितिका सदस्य रहेका संघीय संसदका सदस्यहरु निरीक्षण टोलीमा सहभागी छन् । निरीक्षणमा समितिका सदस्य रहेका जनता समाजवादी पार्टीका केन्द्रीय निर्वाचन आयोग प्रमुख तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झासमेत सहभागी छन् ।
द्रुतमार्गले काठमाडौँसँगको तराई मधेशको दुरी घटाउने र तराई मधेशको विकासमा कोसेढुंगा सावित हुने नेता झाले बताए । नेपाली सेनाले गरिरहेको निर्माण कार्य अत्यन्त प्रशंसनीय रहेको बताउँदै उनले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माणपछि नेपालले विकासमा नयाँ फडको मार्ने बताए ।