धरहरा नेपालको गौरव र इतिहास  = प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नेपालको परिचय, गौरव र इतिहाससँग जोडिएको बताएका छन् । नवनिर्मित धरहराको शिनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुननिर्माण गर्दा विगत झल्कने र आधुनिकता टल्कने हुनुपर्ने अवधारणा राखेको बताए ।
‘मेरो धरहरा मै बनाउँछु’अभियान आफूले शुरु गरेपछि २४ करोड रुपैयाँ रकम सहयोग उठेको बताउँदै फेरि नयाँ अभियानअनुसार निर्माण भएको उनले बताए । धरहराको भग्नावशेष हेर्दा आफ्नो इतिहास नै खण्डहर भएजस्तो लाग्ने टिप्पणी गरे ।

‘धरहरा ढल्दा किन हामी आफैँ ढलेजस्तो लाग्छ । र धरहराको भग्नावशेष हेर्दा आफ्नो इतिहास नै एउटा खण्डहर भएकोजस्तो लाग्छ । किन हामी धरहरा उठ्दा आफै फेरि बौरिएजस्तो लाग्छ ? किनकी हाम्रो भावना र गौरवसँग जोडिएको छ’, प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले भने, ‘पुननिर्माण गर्दा भरसक हाम्रो इतिहास र गौरव झल्कियोस् र आजका आधुनिकता पनि टल्कियोस् भन्नेमा ध्यान दिने गरी बनाएका छौं ।’
ओलीले आधुनिक प्रयोगबाट अब नढल्ने गरी धरहरा बनाउन जोड दिएको स्मरण गरे । ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताए ।

बिज्ञापन

उनले २०७८ साल सडक बालबालिका मुक्त नेपाल बनाउने घोषणा गरेका छन् । नेपाली भिख माग्ने जाती हुन नसक्ने भएकाले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । ओलीले आफूलाई चाहिने चीज आफैं उत्पादन गर्न सक्ने हुनुपर्ने धारणा राखे । उनले हरेक क्षेत्रमा अन्यन्त तीव्र गतिमा काम गर्न सरकार लागी परेको प्रस्ट पारे ।
भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको शनिबार लोकतन्त्र दिवसको दिन प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । उनले उद्घाटनको सुरुमा धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण र त्यसपछि ढोकामा राखिएको रिवन काटेर धरहराको २० औं तलामा रहेको बाल्कुनीमा पुगेर पुष्पवृष्टि गरेका थिए ।