रामेछापको मन्थलीमा जिप खस्दा तीन जनाको मृत्यु

रामेछाप : रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा जिप दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

बिज्ञापन

दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ ।