
काठमाडौं : बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१० की ३८ वर्षकै अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे चार बजे मृत्यु भएको छ ।



यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी ८ बजे र नेपालगञ्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले जानकारी दिए ।
उता, रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको पनि उपचारको क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी, सिरहामा थप एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ ।