
देशमा कोभिड महामारी अत्यन्त तेजीका साथ बढिरहेको छ। कोभिडको सन्त्रासमय अवस्थाले हर कोहिलाई स्तब्ध बनाइदिएको छ।सामाजिक संजाल लगायतका अन्य विविध प्लाटफर्महरुमा बिरामी,मृत्यु र भयानक तवरले बढिरहेको महामारीको जोखिममा आधारित खबरहरु मात्र आइरहँदा संक्रमणको डरसँगै मानिसहरुमा मानसिक भय पनि उत्पन्न भइरहेको मनोरोग विज्ञहरुले बताउँदै आएका छन्।

यस्तो अवस्थामा महामारीबाट बच्नका निम्ति सावधानीहरु अपनाउन जति आवश्यक छ,आँफ्नो र परिवारको मनोबल उच्च राख्न र मानसिक स्वस्थताको ख़्याल राख्न पनि त्यत्तिकै जरुरी छ।परिस्थिति अत्यन्तै अन्योलग्रस्त भइरहँदा अधिकांश मानिसहरु डर,त्रास र भयमा बाँच्न बाध्य भएका छन्।दिनानुदिन संक्रमितहरुको मृत्यु दर बढिरहँदा हरकोहिले महामारीको भयानक अवस्था अन्दाज़ लगाउन सक्छ।कतिपयले त आँफ्ना आफन्त, इष्टमित्र र परिवार भित्रकै सदस्यहरु पनि गुमाएको हुँदा उनीहरुलाई विगतको झैँ सामान्य अवस्थामा फिर्न निकै कठिन हुने गरेको पाइएको छ।



यस्तो विपद परिस्थितिलाई मध्यनजर गर्दै हामीले सकेसम्म आँफ्नोसँगै अरुको पनि मनोबल बढाउन र शक्ति प्रदान गर्न तत्पर रहनुपर्छ।सकेसम्म बाहिर घटिरहेका कारुणिक घटनाहरुकका समाचारहरुबाट टाढै रहने कोशिश गर्नु उचित हुने परामर्श सम्बन्धित विज्ञहरुले दिदैँ आएका छन्।

मनलाई स्थिर र शान्त राख्नका निम्ति सकारात्मक कुराहरुको मनन गर्ने,सामाजिक संजालहरुको प्रयोगमा कमि ल्याउने,परिवारका सदस्यहरुसँग समय बिताउने,गृहस्थीका कामहरु गरिरहने, अध्ययन गर्ने,फुलवारी गोडमेल गर्ने अथवा मनलागेका शिपहरु सिक्ने र इन्टरनेटमा सजिलै प्राप्त हुने विविध विषयका कोर्षहरुको पनि अध्ययन गर्ने जस्ता उपलब्धिमुलक कार्यहरु गर्न सकिन्छ।
महामारी नियन्त्रणका निम्ति आँफूसक्दो योगदान पुर्याउनु एउटा असल नागरिकको ज़िम्मेवारी हो जुन हामी सबै मिली अवश्य गर्नेछौँ।