लेटाङ घटना : गोली हानेर महिला प्रहरीको हत्या

विराटनगर। मोरङको लेटाङमा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली हानेर हत्या भएको खुलेको छ। मृतकको पोस्टमार्टम रिर्पोटअनुसार उनीमाथि धारिलो हतियार प्रयोग नभएर गोली हानिएको पुष्टि भएको हो । गएको ६ चैतमा मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो ।

शिक्षा विकास मावि परिसरमा प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीबाट श्रेष्ठको हत्या भएको थियो । यसअघि प्रहरीले धारिलो हतियार प्रयोग गरेर महिला प्रहरीको हत्या भएको जानकारी दिएको थियो । प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार महिला प्रहरीको शरीरबाट गोली निकालिएको छ। मृतक महिला प्रहरीको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोस्टमार्टमबाट पुष्टि भएको छ।

बिज्ञापन

उनको पेटबाट निकालिएको गोली भने आधुनिक हतियारमै प्रयोग हुने गोली भएको बताइएको छ । प्रहरीको हतियारसँग मृतक प्रहरीलाई लागेको गोली म्याच हुन नसकेकाले गोली प्रदर्शनकारीबाटै चलेको पुष्टि भएको छ। यसैबीच हत्या प्रकरणमा १४ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । प्रहरीले घटनामा संलग्न ७० जनालाई पक्राउ गरेर अनुसन्धान पूरा गरी मंगलबार १४ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनामा संलग्न १४ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको जानकारी दिए। प्रहरी उपरीक्षक कोइरालालका अनुसार प्रहरीको प्रस्तावित राय कर्तव्य ज्यानमा मुद्दा चलाउन भनिएका मध्ये ३ जना फरार छन् । प्रतिवादी बनाउन राय दिइएका सबै जना पुरुष हुन् । एक जना भने नाबालक छन् । यस्तै प्रहरीले ५६ जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन राय दिएको छ ।