
काठमाडौं । सुर्खेत प्रहरीले गुर्भाकोट नगरपालिका–३, कुरिल्लेबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत बोटेचौरबाट सल्ली बजारतर्फ आउँदै गरेको भे४प–४८८७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चितुवा बाघको छालासहित गुर्भाकोट नगरपालिका–९, का वीरेन्द्रकुमार खत्रीलाई पक्राउ गरेको हो ।

बिज्ञापन



जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले चितुवा बाघको छालासहित मोटरसाइकलमा एक व्यक्ति आइरहेको गोप्य सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले खत्रीलाई रंगेहात पक्राउ गरेको बताए ।

उनले टाउकोदेखि पुच्छरसम्म भएको चितुवाको छालासहित खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि गुर्भाकोट सब–डिभिजन वन कार्यालय मेहेलकुनालाई जिम्मा लगाइएको जानकारी दिएका छन् ।