
चितवन : चितवनतको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने भएको छ । कोभिड बिरामीको उपचारका लागि क्यान्सर अस्पतालले १४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्दै छ ।

आइतबारबाट कोरोना संक्रमित बिरामीको भर्ना लिन सुरु गर्ने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए । हाल चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा मात्रै कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको छ ।



ती अस्पतालमा कोरोना संक्रमित बिरामीहरु भरिन थालेको र थप संक्रमितले उपचार नपाउने अवस्था आएपछि क्यान्सर रोगको उपचार हुँदै आएको अस्पतालमा पनि कोरोना संक्रमितको उपचारका लागि १४० बेड छुट्टाइएको निर्देशक गौतमले बताए ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्टसमेत भएकाले संक्रमित बिरामीको उपचारमा सहज हुने र अक्सिजनको अभावमा कोही पनि बिरामीले मर्न पर्ने अवस्था नआउने उनले विश्वास व्यक्त गरे ।