
काठमाडौ । वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी उत्तमराज सुवेदीको कार्यकक्ष पत्रकार र सुरक्षाकर्मीले भरिभराउ थियो । कारण, केही दिनअघि काठमाडौंका विभिन्न ठाउँमा ‘सिरिन्ज आक्रमण’का कारण पक्राउ परेका युवा सार्वजनिक गर्ने तयारी थियो ।
केही समयपछि सिरिन्ज आक्रमणकारी भनिएका रामेछापका सन्तोष कार्कीलाई प्रहरीले सार्वजनिक गर्यो । पत्रकारले फोटो खिचे । आवश्यक सूचना लिए । पत्रकार सम्मेलनपछि प्रहरी परिसरमा अनौठो दृश्य देखियो, ड्युटीमा खटिएकी एक महिला प्रहरी हबल्दार कामिरहेकी ।
थुनुवा कक्षअघि कामिरहेकी ती प्रहरी हबल्दार कक्षभित्र जान खोजिरहेकी थिइन् । जहाँ शुक्रबार बिहान प्रहरीले पक्राउ गरेकी ‘धर्तीमाता’ लाई राखिएको थियो ।
प्रहरीले धर्तीमाताका नाममा युवतीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेकी विष्णु कुँवर पनि शुक्रबारै सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, हबल्दारमा नै ‘देउता चढेपछि’ प्रहरीले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्यो ।
काठमाडौं प्रहरी परिसरको टोलीले कुँवरलाई बिहान बालाजुबाट पक्राउ गरेकाे थियो । उनले माताका नाममा भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर यातना दिएकी थिइन् ।
बुटबलबाट काडमाडौं आएकी धर्तीमाताले सार्वजनिक स्थलमै बोक्सी भगाउने नाममा एक युवतीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
काठमाडौं प्रहरीका अनुसार ‘धर्तीमाता’ले युवतीलाई कुट्ने बेला ती महिला प्रहरी हबल्दार पनि भद्रकालीमै थिइन् । तिनै महिला प्रहरीले युवतीलाई ‘धर्तीमाता’को कुटाइबाट जोगाएकी थिइन् ।
धर्तीमाता र प्रहरी हबल्दारबीच कुनै चिनजान थिएन । मन्दिर दर्शन गर्न गएका बेला युवतीमाथि कुटपिट गरेको देखिपछि उनले बचाएकी हुन् ।
मनोविद् भन्छन्ः देउता चढेको होइन, मनोरोग हो
मनाेविद् भने माता भनिने र माता चढेको भनिने मनोरोगी भएको बताउँछन् । ‘जसलाई मेनिया भनिन्छ । मेनिया महिलामा हुने मनोरोग हो । यस्ता रोगी चल्ने र काम्ने गर्छन्,’ मनोविद् गोपाल ढकालले भने ।
त्यस्तै, अर्को मनोरोग भनेको ‘कन्भेन्सन डिसअर्डर’ अर्थात् कडा खालको मानसिक रोग हो । जसमा मान्छेले अदृश्य शक्तिका नाममा डर, पीडा र कुण्ठा पोख्ने गर्छन् । यो पुरुषमा पनि हुन्छ ।
मनोविद् पदम जोशीका अनुसार हाम्रो सामाजिक, धार्मिक र संस्कृतिक असरको कारण मानिसमा काम्ने, चल्ने, रुने जस्ता असामान्य घटना हुन्छ ।
‘खासमा प्यारा साइकोलोजीका कारण यस्तो समस्या देख्छिन्,’ जोशी भन्छन्, ‘वैज्ञानिकभन्दा पनि आस्था र विश्वासका कारण यस्तो हुने गरेको छ । शिलापत्रबाट