विपक्षी गठबन्धनका सांसदहरुले गरे नागरिकतासहित सर्वोच्च जाने तयारी

काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरूले नागरिकतासहित सर्वोच्च अदालत जाने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेश गर्नको लागि आज विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च जाने तयारी गरेका हुन् ।

सर्वोच्च जाने तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । उनीहरु आज तयारी सकिए आजै, नभए भोलि सर्वोच्च जाने तयारी भएको स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कानूनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको जानकारी दिए।

बिज्ञापन

त्यस्तै,नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पनि सकेसम्म आजै आफूहरु सर्वोच्च जाने तयारीमा रहेको बताइन् । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।