उदयपुरमा कृषकलाई उन्नत जातको धानको बीउ वितरण

उदयपुरमा कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्न थालिएको छ ।

चौदण्डीगढी नगरपालिकाले बीउ वितरण सुरु गरेको हो । बिहिबारदेखि पहिलो चरणमा वडा नम्बर ६ बाट बीउ वितरण सुरु गरिएको छ । अन्य वडामा एक हप्ता भित्र झण्डै १४ मेट्रिकटन बीउ वितरण गरीसक्ने नगरपालिकाका कृषि प्राविधिक प्रमुख नीतु खनालको भनाइ छ ।

बिज्ञापन

गत वर्ष पनि वर्षायामसँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ वितरण गरेको थियो । नगरपालिकाका मेयर खगेन्द्र राईले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ वितरण गरिएको बताए ।

गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ दिँदा नगरमा २० प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यावस्थापन गरेको नगरप्रमुख राईले बताए । बीउमा २५ प्रतिशत कृषक र ७५ प्रतिशत नगरपालिकाको योगदान रहेको छ ।

रासस