
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति छानबिन र मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । हाल अख्तियारले सरकारका विभिन्न निकायमा कार्यरत झन्डै ३ सय कर्मचारीमाथि अकुत सम्पत्तिमाथि छानबिन गरिरहेको छ ।




सोही क्रममा अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन नायब सुब्बा (नासु) ललितकुमार झा र उनकी श्रीमती सुचितादेवीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । झा हाल इलाका प्रशासन कार्यालय बर्दिवासमा कार्यरत छन् ।

अख्तियारले झा दम्पतीविरुद्ध १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बिगोसमेत दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
२०४० सालदेखि गत जेठसम्म जाँच अवधिको आयव्यय तथा सिर्जित सम्पत्ति विश्लेषण गर्दा २ करोड २८ लाख ६४ हजार ७ सय ३० रुपैयाँ आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।